हुप्सेकोटमा पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई राहत

चोरमारा । नवलपुरको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा भदौं १० गते राति आएको पहिरोमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई शनिबार देउराली फाउण्डेशनले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
राष्ट्रिय दलित पत्रकार संघ नवलपुरको पहलमा फाउण्डेशनले २५ हजार रुपैया रकम पीडित परिवारलाई सहयोग गरेको हो । भदौं १० गते राति आएको पहिरोमा पुरिएर स्थानीय हस्तबहादुर पुलामीका श्रीमती धनमाया पुलामी र नातिनीहरु भुमिसरा पुलामी र देउमाया पुलामीको मृत्यु भएको थियो । पहिरोमा परि घाईते भएका हस्त बहादुरको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
पहिरोको कारण माथिल्लो चारघरेबाट बिस्थापित पुलामी परिवार हुप्सकोट–४ रुम्सीको हुप्सेकोट मा.वि.मा अस्थाई रुपमा बस्ने व्यवस्था गरिएकोमा अहिले हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा आफ्नो आफन्ति कहाँ काजक्रियामा रहेका छन् । फाउण्डेशनबाट प्राप्त सहयोग दलित पत्रकार संघ नवलपुरले शनिबार काजक्रियामा रहेको स्थानमा नै पुगेर परिवारलाई हस्तान्तरण गरेको हो ।
राहत रकम हस्तान्तरण गर्दै राष्ट्रिय दलित पत्रकार संघ नवलपुरका अध्यक्ष गोबिन्द नेपालीले परिवारका सदस्य गुमाउदाको पीडा र बासस्थानबाट स्थानान्तरण हुनुपर्दाको पीडामा थोरै भएपनि संस्थाको तर्फबाट सहयोग पुगोस् भन्ने हेतुले राहत रकम प्रदान गरेको बताउनुभयो । जनधनको क्षती मात्रै नभई मानबिय क्षति समेत बेर्होनुपरेको पिडालाई सबैले महसुस गर्दै आ–आफ्नो तर्फबाट सहयोग गर्न समेत उहाँले अनुरोध गर्नुभयो ।
मृतक परिवारले बिपतको बेलामा सहयोग उपलव्ध गराएकोमा देउरालि फाउण्डेशन र संयोजनको लागि दलित पत्रकार संघ नवलपुरलाई धन्यबाद दिनु भएको थियो । काजक्रिया गर्न आफ्नो घरबास नभएर आफन्तिकोमा गर्नुपरेको यो दुखद अवस्थामा संस्थाबाट प्राप्त सहयोगले ठुलो राहत मिलेको परिवारको भनाई छ ।
राहत हस्तान्तरण कार्यक्रममा हुप्सेकोट मा.वि.का प्रध्यानाध्यापक बम बहादुर सारु, जिल्लाको विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार, पीडित परिवार सहितको उपस्थिति रहेको थियो ।