६ वटा पत्रकार संगठनकाे एउटै माग: एमसीसी सम्झाैता खारेज गर !
काठमाडौं । सञ्चार सम्बद्ध ६ वटा पत्रकार संगठनले एमसीसी सम्झाैता खारेजीकाे जाेडदार माग गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष उदय जिएम, जनपत्रकार संगठन, नेपालका संयाेजक शेरबहादुर विश्वकर्मा (संयाेजक), प्रेस सेन्टरका सचिव भीम विक, देशभक्त पत्रकार संघका तेजेन्द्रकुमार प्रसाई (संयोजक) र अखिल नेपाल पत्रकार युनियनका यज्ञ दंगाल (संयोजक)ले संयुक्त रुपमा जारी गरेकाे वक्तव्यमा एमसीसी सम्झौतामा रहेका शर्तहरुले नेपालकाे संविधानलाई अधिनस्थ बनाउने, नेपालको असंलग्न परराष्ट्र नीति, देशको स्वाधीनता, सार्वभौमिकता एवम् अखण्डतामा गम्भीर आँच आउने प्रष्ट देखिएकाे उल्लेख गर्दै खारेजीकाे माग गरेका हुन् ।
वक्तव्यमा एमसीसीका पदाधिकारीकाे हुन लागेकाे भ्रमण र अासन्न संसदकाे अधिवेशनबाट एमसीसी पास गर्ने गरि भइरहेका समग्र गतिविधिकाे घाेर विराेध गरिएकाे छ भने एमसीसी सम्झाैता संसदमा टेवल नगर्न र एमसीसीकाे पक्षमा मत नदिन प्रतिनिधि सभाका सभामुख र सांसदहरुलाई विशेष आग्रह गरिएकाे छ । साथै, यस्ताे राष्ट्रघाती एमसीसी सम्झाैताकाे पृष्ठपाेषण हुने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन सबै सञ्चारमाध्यमलाई समेत हार्दिक आग्रह गरिएकाे छ ।
वक्तव्यमा सम्पुर्ण देशभक्त नेपालीहरुलाई एमसीसी सम्झाैता खारेजीका लागि आन्दाेलित हुन आव्हान समेत गगरिएकाे छ र खारेजीकाे पक्षमा २२ दलीय मार्चा लगायत, सचेत देशभक्त नागरिकहरुले चलाएका तथा घाेषणा गरेका आन्दाेलन, अभियानप्रति ऐक्यबद्धता जाहेर गरिएकाे छ ।

यस्ताे छ वक्तव्यकाे पुर्णपाठ
“अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अन्तरगत नेपाललाई प्रदान गरिने अनुदान सहयोग अमेरिकी सरकारको इण्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत रहेको र नेपालमा आफ्नो सैनिक अखडा राखेर चीनलाई घेर्ने रणनीति रहेकाे अब स्पष्ट भइसकेको छ । अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरुले नै पटकपटक उक्त तथ्य स्वीकार गरिसकेका छ्न् । एमसिसी सम्झौतामा रहेका शर्तहरुले नेपालकाे संविधानलाई अधिनस्थ बनाउने, नेपालको असंलग्न परराष्ट्र नीति, देशको स्वाधीनता, सार्वभौमिकता एवम् अखण्डतामा गम्भीर आँच आउने प्रष्ट देखिएकाे छ ।
एमसीसी अन्तर्गतका परियोजना सञ्चालन गर्दा दक्षिणी छिमेकी भारतको समेत स्वीकृति लिनुपर्ने, सम्झौतासँग नेपालको संविधानलाई अधिनस्थ बनाउने, बौद्धिक सम्पत्तिमाथि एमसीसीकै अधिकार रहने, लेखा परीक्षणको अधिकार समेत नेपाललाई नहुने, परियोजनालाई आवश्यक सामग्रीहरु अमेरिकाबाट नै खरिद गर्नुपर्ने, असुरक्षित महसुस भएमा एमसीसीले एकतर्फीरुपमा सम्झौता भङ्ग गर्नसक्ने लगायतका कैयौै प्रावधानहरु घाेर राष्ट्रघाती रहेका छन् । यसर्थ, नेपालकाे राष्ट्रिय हितविपरीतकाे याे सम्झाैता खारेजीका लागि हामी जाेडदार रुपमा माग गर्दछाैं । साथै एमसीसीका पदाधिकारीकाे हुन लागेकाे भ्रमण र अासन्न संसदकाे अधिवेशनबाट एमसीसी पास गर्ने गरि भइरहेका समग्र गतिविधिकाे हामी घाेर विराेध गर्दछौं । र, एमसीसी सम्झाैता संसदमा टेवल नगर्न र एमसीसीकाे पक्षमा मत नदिन हामी प्रतिनिधि सभाका सभामुख र सांसदहरुलाई विशेष आग्रह गर्दछाैं।
यो सम्झौता स्वीकार गर्नु नेपालका लागि आत्मघाती कदम हुनेछ । र, आफ्नो मृत्युपत्रमा आफैले हस्ताक्षर गर्नुसरह हुनेछ ।
तसर्थ हामी सम्पुर्ण देशभक्त नेपालीहरुलाई एमसीसी सम्झाैता खारेजीका लागि आन्दाेलित हुन आव्हान समेत गर्दछाै र खारेजीकाे पक्षमा २२ दलीय मार्चा लगायत, सचेत देशभक्त नागरिकहरुले चलाएका तथा घाेषणा गरेका आन्दाेलन, अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दछौं ।
साथै, यस्ताे राष्ट्रघाती एमसीसी सम्झाैताकाे पृष्ठपाेषण हुने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन सबै सञ्चारमाध्यमलाई हार्दिक आग्रह गर्दछौं ।”
हस्ताक्षरकर्ताहरु
इन्द्र राउत (अध्यक्ष)
क्रान्तिकारी पत्रकार महासंघ
उदय जिएम (अध्यक्ष)
प्रगतिशील पत्रकार संघ, नेपाल
शेरबहादुर विश्वकर्मा (संयाेजक)
जनपत्रकार संगठन, नेपाल
भीम ब. विश्वकर्मा (सचिव)
प्रेस सेन्टर, नेपाल
तेजेन्द्रकुमार प्रसाई (संयोजक)
देशभक्त पत्रकार संघ
यज्ञ दंगाल (संयोजक)
अखिल नेपाल पत्रकार युनियन