कोरोना कहरले च्यापिएको कौराह संरक्षण समूह
– कमला राना –
“यो नानीको शीरको फूल चोखो छ की जुठो छ
त्यो फुल लाउने मलाइ धोको छ ”

मिठो गीतको भाकासंगै खैंजडीको तालमा सबैलाई नचाउँदै र नाच्दै कौराह नृत्य संरक्षणमा जुटेको झोर्ले कौराह समूह अहिले वाक्य नफुटेको बालक जस्तै शून्य बनेको छ ।
कोभिड १९ का कारण मगर समुदायको मौलिक नृत्यको रुपमा सूचीकृत कौराह नाचलाई जगेर्ना गर्न कम्मर कसेको कावासोती नगरपालिका वडा नम्बर ४ स्थीत हसौराको झोर्ले कौराह समिति सेलाउन बाध्य भएको छ।
कोरोनाका कहरका कारण विवाह, सामुहिक भोज जस्ता धेरै मानिस जमघट भएर गरिने कार्यक्रम रोकिएपछि त्यसको प्रभाव कौराह नाचलाई पनि परेको हो।
कोरोना कहरका कारण विश्व नै आक्रान्त भएको यस विषम परीस्थीतिमा झोर्ले कौराह समूह पनि अछुतो रहन सकेन। नृत्यको समयमा प्रयोग गरिने सामग्रीहरु यतिवेला धुलो जमेर कतै थन्किरहेका छन् भने कलाकारहरु विस्थापित हुने अवस्थामा पुगेको छ ।
सांस्कृतिक हिसाबले कौराह नृत्य पौष पन्ध्रदेखि शुरु गरी जेष्ठ महिनामा पर्ने दशहराको तिथिमा सेलाउने (अन्त्य गर्ने) परम्परा रहे तापनि व्यवसायीक हिसावले वर्षको बाह्रै महिना नाच्ने गरिन्छ ।
हरेक महिना नवलपुर जिल्लादेखि बाहिरी जिल्लाहरुमा समेत विभिन्न कार्यक्रम, सभा समारोह, महोत्सव जस्ता कार्यक्रममा सहभागी हुर्दै आएको यो समूहको सबै गतिविधि कोभिड १९ कारण यतिवेला ठप्प हुन पुगेको छ। मगर भाषामा नाम जुराइएको झोर्लेको अर्थ नेपाली भाषामा हुन्छ “नमस्कार”। २०६८ सालमा स्थापना भएको झोर्ले कौराह समूहले आफे्नो समूहको नृत्यलाइ निकै आकर्षक र जिवन्त रुपमा प्रस्तुत गर्दै आइरहेको छ जसले गर्दा सबैको रोजाइको समूह बन्ने गरेको छ।
झोर्ले कौराह समूहले कौराह नृत्य प्रस्तुत गरे बापत एकदिनको दश हजारदेखि पच्चीस हजारसम्म समयको निर्धारण गरी पारिश्रमीक लिने गरेका छन्। विभिन्न कार्यक्रमहरुबाट संकलीत रकमबाट नृत्यमा आवश्यक बाद्यवादन खरिद, मर्मत, कलाकारहरुको लागी सस्कृति झल्कने पोशाक, कलाकारहरुलाई प्रोत्साहन स्वरुप थोरै रकम, आउँदा जादा सवारी भाडा सहित खाजामा खर्च गरीने गरेको समुहका अध्यक्ष यामबहादुर राना मगरले बताए ।
भैपरी आउने कार्य सम्पादनको लागी विभिन्न खर्च कट्टा गरी कोषमा समेत बचत गर्दै आएको झोर्ले समूह यतिवेला कोरोना कहरका कारण उठनै नसक्ने गरी थला परेको अध्यक्ष राना मगरले बताए ।
सामान्य अवस्था रहँदा बर्षको हरेक महिना कुनै न कुनै कार्यक्रमहरुमा सहभागी हुने अवसर जुट्ने गरेकोले कलाकारहरुले प्राप्त गर्ने धेरै थोरै प्रोत्साहन स्वरुप रकमले आवश्यक खर्च जुटाउँदै आएका थिए ।
कोभिडका १९ का कारण कार्यक्रम बन्द भएपछि आम्दानी समेत बन्द भएकोले कलाकारहरु पलायन हुन पुगेको अध्यक्ष राना मगरले बताउछन् ।
सम्बन्धित निकायबाट सहयोग प्राप्त नहुँदा समूह चलाउन कार्यक्रमकै मुख ताक्नुपर्ने अवस्था रहेको झोर्ले समूहले कुनै कार्यक्रममा सहभागी हुने क्रममा सबै कलाकारहरुको लागी खाजा खाना र सवारी साधनको व्यवस्था गर्न, आवश्यक सामग्री जुटाउन निकै कठीन हुने गरेको अध्यक्ष राना मगरले बताए ।
विशेषत मगर समुदायले मात्रै नाच्दै र नचाउदै आएको कौराह नृत्य पछिल्लो समय अन्य समुदायमा पनि प्रचलित रहेको छ ।
मगर समुदायको जातीय भेष भुषामा सजीएर एउटै उमेर समुहका युवतीहरु कौराह नृत्यमा सहभागी हुने गर्दछन् ।
कम्तीमा दुइ देखि बाह्र पन्ध्र जना सम्म सहभागी भइ एउटै भाव र तालमा नाचिने कौराह नृत्यमा पुरुष समूहले गीत गाउने र बाजा बजाउने गर्दछन् । कौराह नत्यमा डम्फु (खैजडीं) खांकर र झर्रा (चांप) बाजाको रुपमा प्रयोग गरिएको पाइन्छ भने खांकर र झर्रा (चांप) नृत्यमा सहभागी युवतीहरुले खुट्टामा लगाउने गर्दछन् । कौराहको अर्थ कान राहा (हामी आयौं) भन्ने शव्दबाट लिइएको मौलिक कौराह संरक्षण समितिका केन्द्रीय अध्यक्ष हर्क आले मगरले बताए ।
विगतको समयमा वल्लो पल्लो छिमेकी गाउंका युवा युवतीहरु मिलेर कोराह नाच्ने प्रचलन रहेको थियो । युवतीहरुले युवाहरुलाई कौराह नाचको लागी विशेष समय तोकी निम्तो दिएपछि छिमेकी गाउका युवाहरु तोकीएको समयमा युवतीहरुले बोलाएको स्थानमा पुगी विशेष समारोहका बीच कौराह नाच्ने परम्परा रहेको भएपनि वर्तमान समयमा भने एउटै गाउ टोलका युवा युवतीहरु मिली कौराह नाच्ने गरेको पाइन्छ ।
कौराहको उत्पती थलो तनहँु जिल्लामा अवस्थीत रिसीङ गाउलाई मानिदै आएको भएपनि पुर्वी पाल्पा, नवलपुर, लमजुङ र गोर्खा जिल्ला लगायतको मगर समुदायले कौराह नृत्य नाच्ने गरेका छन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका सहित हुप्सेकोट गाउंपालिका, गैडाकोट नगरपालिका र देवचुली नगरपालिका सहीत पहाडि क्षेत्रमा समेत १७ भन्दा बढी समुहले कौराह नृत्य सञ्चालन गर्दै आएको छ ।
यसरी मगर समुदायको पहिचान झल्काउने मौलिक नृत्यका रुपमा सूचीकृत कौराह संरक्षणको लागी जुटेको विभिन्न संघ संगठनहरुलाई सम्बन्धीत निकायबाट सहयोगको पहल हुन सके भावि पुस्तालाई हस्तान्तरण गर्दै जगेर्ना गर्न सकिने मौलिक कौराह समितिका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताए ।
यता राष्ट्रिय मौलिक कौेराह संरक्षण समितिले कौराह नृत्य संरक्षणको चलचित्र निर्माण गर्ने र कौराह नृत्य संरक्षण सम्बन्धी कलम चलाउने पत्रकारहरुको लागी पुरस्कारको व्यवस्था समेत गर्दै आएको बताउछन् ।
त्यसैगरी आगामी दिनहरुमा पाठ्यक्रम निर्माण गरी विद्यालय तह देखि नै सरक्षण र पहिचानको लागी पहल थाल्ने योजना रहेको केन्द्रीय अध्यक्ष हर्क आले मगरले बताए ।
यस्तै स्थानीय स्तरमै समूह निर्माण गरी मौलिक कौराह नृत्य संरक्षणमा व्यवसायिक रुपले जुटीरहँदा धेरै युवा पुस्ताहरुलाई विदेश पलायन हुनबाट समेत जोगाउन त सकिन्छ नै मगर समुदायको पहीचान र सस्कारहरुलाइ समेत जिवन्त राख्न सकिने झोर्ले कौराह समूहका अध्यक्ष याम बाहादुर राना मगरले बताउछन्।
https://www.youtube.com/watch?v=_2CMtRk4tl8
राष्ट्रिय मौलीक कौराह समिति नवलपुर जिल्ला अध्यक्ष मेखबहादुर सारुले कौराह संरक्षणको लागी जुटेको समूहलाइ वडा तहबाट नियम अनुसार सहयोग प्रदान गर्ने गरिएको बताए। त्यसैगरी विभिन्न स्थानमा कौराह नृत्यको प्रतिस्पर्धा तथा सम्मेलन हरुको आयोजना गरी संरक्षणको लागी पहल गरीएको बताउने जिल्ला अध्यक्ष सारुले केन्द्रीय स्तरबाट पनि पहल हुन आवश्य रहेको औल्याए ।
कौराह नृत्यलाई संरक्षण गर्न कम्मर कसेको झोर्ले कौराह समूह हसौरालाई पहिलेकै लयमा फर्काउन गाहो पक्कै छ तर असम्भव भने होइन । तसर्थ सरोकारवालाहरुले कौराह नृत्य मार्फत मगर समुदायको संस्कार, परम्परा र पहीचान जगेर्ना गर्न कम्मर कसेको झोर्ले कौराह समुह जस्ता अन्य संघ सस्थाहरुलाइ पुनरुत्थानका लागि ठोस योजना र कार्य नीतिलाई इच्छा शक्तिका साथ अघिबढाउन आवश्यक देखिन्छ ।