भुकम्प पछिको पुननिर्माणको काम नसक्दै नवलपुरसहित देशभरका ३१ जिल्लाकै पुननिर्माण प्राधिकरणको कार्यालय बन्द




रामकुमार श्रेष्ठ –

नवलपुर । २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भुकम्पले क्षति भएका संरचनाहरु निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई कार्यालय आज विहीबारबाट बन्द भएको छ ।

 




नवलपुर सहित देशका ३१ वटै जिल्लाका ईकाई कार्यालय बन्द भएका हुन् । इकाई कार्यालय बन्द भएपछि पुननिर्माण बाँकी रहेको सेवाग्राहीहरु अलपत्र परेका छन् ।

 

पूर्वी नवलपरासी र पश्चिम नवलपरासी हेर्ने नवलपुरका कावासोतीमा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय नवलपुर दुवै आज विहीबारबाट बन्द भएको छ ।

 

जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय नवलपुरले कार्यालयमा रहेका जिन्सी तथा फर्निचरहरु चितवनमा रहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनालाई हस्तान्तरण गरेको छ ।

 

जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय नवलपुरका प्रमुख राजेन्द्र कार्कीले आजदेखि कार्यालय बन्द भएको बताए ।

७८ जना नयाँ लाभग्राही अलपत्र

कार्कीका अनुसार नवलपरासीमा ७८ जना पछिल्लो पटक पुनरावेदनको क्रममा भुकम्पबाट भौतिक संरचना क्षति भएको भनि लाभग्राही कायम भई आएका थिए । उनीहरुसँग सरकारले कुनै सम्झौता गरेको छैन भने नीजि आवास निर्माणका लागि कुनै रकम पनि उपलब्ध गराएका छैनन् ।

 

नवलपुरमा बुलिङटारमा २१ जना, मध्यविन्दुमा १२ जना, हुप्सेकोटमा १२ जना, देवचुलीमा ११ जना, गैडाकोटमा १२ जना, बौदीकालीमा ५ जना लगायतका गरी ७८ जना नयाँ लाभग्राही कायम भएका थिए ।

 

उनीहरु लाभग्राही कायम भए पनि राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय बन्द भएपछि सेवा लिन कहाँ जाने भन्नेमा अलपत्र परेका छन् ।

 

नवलपरासीमा यस अघि निजी आवासतर्फ १ हजार ९९ जना सेवाग्राही कायम भएकोमा १ हजार ८६ जना अर्थात ९८ दशमलब ८ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका थिए । बाँकी १३ जना सम्पर्कमा नआएको तथा सम्पर्कमा आउन नचाहेकाहरु थिए ।

 

पुल निर्माणको ४२ लाख भुक्तान बाँकी

त्यसैगरी देवचुली नगरपालिकाको १२ र ५ नम्बर वडा जोड्ने पक्की पुन पनि आयोजनाले निर्माण गरेको छ । उक्त पुलको अझै ४२ लाख भुक्तान दिन बाँकी रहेको छ ।

 

त्यसैगरी नवलपरासीमा ११ वटा गुम्बा भुकम्पले क्षति भएकोमा ८ वटा गुम्बा पुननिर्माण भएको, १ वटा निर्माणाधिन अवस्थामा रहेको र २ वटाले भवन निर्माण गर्न अनिच्छा देखाएको कार्कीले बताए ।

 

१४ जना कर्मचारीको विचल्ली

 

यस अघि राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय नवलपुरमा रहेका १६ जना कर्मचारी मध्ये २ जना स्थायी कर्मचारी अनेत्र सरुवा भए पनि बाँकी १४ जना कर्मचारी भने विचल्लीमा परेका छन् ।

झण्डै ५ बर्ष सेवा गरेका ति कर्मचारी स्थायी नभएको र कार्यालय समेत बन्द भएका कारण विचल्लीमा परेका हुन् ।



सम्बन्धित
Loading...