पाँच महिनापछि खुल्यो सि.जी शास्वतधाम




पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको पर्यटकीय धार्मिक स्थल सिजी शास्वतधाम पाँच महिनापछि खुल्ला भएको छ ।

महामारीका रुपमा फैलिएको दोस्रो कोरोना भाईरस संक्रमणका कारण लकडाउन भएपछि सिजी शास्वतधाम सहित देशभरका धार्मिक स्थलहरु बन्द भएका थिए ।

 




गत चैत्र १५ गते देखि बन्द रहेको सि.जी शास्वतधाम पाँच महिनापछि गत भाद्र १० गते देखि खुल्ला भएको हो । नेपाल सरकारले देशभर लकडाउन खुकुलो गरेसँगै सिजी शास्वतधाम पनि स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकहरुका लागि खुल्ला गरिएको चौधरी उद्योग ग्रामका नायब प्रबन्धक रामचन्द्र धितालले जानकारी दिनुभयो ।

सि.जी शास्वतधाम पवित्र धार्मिक पर्यटकीय स्थल रहेकाले पनि यहाँ टाढा–टाढाबाट रिप्रेस हुन, सनातन धर्मको ज्ञान लिन मानिसहरु आउने गर्छन । तर कोभिडका कारण लामो समय देखि मानिसहरु पनि घुम्न आउन बन्द भयो सनातन धर्म मान्ने व्यक्तिहरु पनि ज्ञान लिन नसकेको धितालले बताउनुभयो ।

पर्यटन क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा समेत असर पुगेको छ । सि.जी शास्वतधाम नजिकै ठेला र गाडामा आफ्नो जिविका पार्जनका लागि व्यापार गर्ने व्यवसायीहरुलाई पनि असर पुगेको छ ।

 

अहिले सि.जी शास्वतधाम खुलेसँगै वरिपरि मानिसहरुको चहलपहल बढेको छ । अहिले दिनमा करिब ७ सय देखि ८ सय जना पर्यटकहरु सि.जी शास्वतधाम घुम्न, रिफ्रेस हुन आउने गरेको पाईन्छ ।

धेरै पर्यटकहरुको गुनासो आएपछि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सि.जी शास्वतधाम खुल्ला गरिएको छ ।

अहिले सि.जी शास्वतधाम घुम्न जाँदा मास्क अनिवार्य रुपमा, सेनिटाईजर लगायतको स्वास्थ्य मापदण्ड अपनाएर अवलोकन गर्न सकिने छ ।



सम्बन्धित
Loading...