एमालेको नाराबाजी – के के भयो आजको संसद वैठकमा
एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित
प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे ।
सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत
प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।
आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेका छन् ।
बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । उनले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरुप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिए ।
अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई मजबुद तुल्याउन कृषि, उद्योग प्रवद्र्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताए ।
यसअघि विनियोजन विधेयकलाई पारित गर्नुपूर्व सांसद प्रेम सुवालले राख्नुभएको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।
