मातृस्वास्थ्य शिविर संचालन

चौधरी फाउण्डसेन, नबिल बैंक तथा नेपाल हेल्थको संयुक्त आयोजनामा २ दिने मातृस्वास्थ्य शिविर संचालन भएको छ ।
नवलपुर जिल्लाको हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिकामा संचालित उक्त शिविरमा २०० महिलाहरु निशुल्क स्वास्थ्य सेवाबाट लाभाम्वित भएको आयोजकले जनाएको छ ।
स्वास्थ्य सम्बन्धी कमजोर स्रोत र साधनका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित भएका ग्रामिण क्षेत्रका विवाहित महिलाहरु माझ महिला स्वास्थ्य सम्बन्धी जटिलताहरुको प्रारम्भिक लक्षणहरुको पहिचान र समयमा नै त्यसको उपचारमा सहयोग पु¥याउन उक्त कार्यक्रम सम्पन्न गरिएको चौधरी फाउण्डेसनका महाप्रवन्धक पूर्ण चन्द्र जोशीले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका उच्च जोखिम वर्गका महिलालाई लक्षित गरी नवलपुर जिल्लाको दुर्गम भेगलाई छनौट गरी उक्त कार्यक्रम संचालन गरिएको नबिल बैंक कावासोती शाखाका प्रवन्धक सनी रावलले जानकारी दिनुभयो ।
यस मातृ तथा प्रजनन स्वास्थ्य कार्यक्रममार्फत बेलैमा मातृ स्वास्थ्यको जानकारी लिई बाल तथा मातृ मत्युदर कम गर्न मद्दत पुग्ने नेपाल हेल्थ क्रप्सका तर्फबाट डा. प्रदिस पौडेलले जानकारी दिनुभयो ।
शिविरमा सहभागीहरुको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे र आवश्यकता अनुसार औषधी निशुल्क प्रदान गरिएको छ ।
मातृ र प्रजनन स्वास्थ्य एक महत्वपूर्ण स्वास्थ्य सूचक मात्र नभई यो देशकै आर्थिक र सामाजिक विकासको महत्वपूर्ण प्रतिबिम्ब मानिन्छ ।
यस किसिमको शिविरले आधारभूत स्वास्थ्य सेवाबाट वंचित क्षेत्रका महिलाहरु लाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको सुनिश्चितता गर्न मद्दत पुग्ने र स्थानीय निकाय र समुदायसंगको साझेदारीमा यस किसिमका कार्यक्रमलाई अझ विस्तार गर्दै लगिने आयोजकले जनाएकोछ ।