राष्ट्रपतिद्वारा संशोधित बजेट प्रमाणीकरण, नेपाल सधैँ एक चीन नीतिको पक्षमा छः राष्ट्रपति भण्डारी
राष्ट्रपतिद्वारा संशोधित बजेट प्रमाणीकरण

राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् ।
संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।
यसअघि सरकारले ल्याएको संशोधित बजेटलाई संसद्का दुवै सदनबाट पारित भएको छ ।
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए ।
सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको थियो ।
राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए ।
नेपालमा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो ।
अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन ।
नेपाल सधैँ एक चीन नीतिको पक्षमा छः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन्।
राष्ट्रपति भवन शितल निवासमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा सधैँ उभिएको बताएकी हुन्।
कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारिन्।
उनले शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दे यस क्षेत्रमा साझेदारीलाई थप सघन तुल्याउनु पर्ने सुझाब दिएकी थिइन्।
राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने राष्ट्रपति सीको मानवतावादी प्रतिवद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएको भन्दै चिनियाँ नेतृत्वको प्रशंसा गरिन्।
कार्यक्रम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताइन्।
उनले भूगोल र प्रकृतिले नेपाल र चीनलाई एकअर्कासँग निकट बनाएको उल्लेख गर्दै दुई देशलाई महान बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताइन्।
राजदूत यान्छीले दुवै देशले पारस्परिक मित्रता एवं विकासमा विकशित भएको साझेदारीलाई महत्वपूर्ण रहेको बताइन्।
दुई विधेयक पारित
प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई पारित गरियोस् भनी प्रस्ताब प्रस्तुत गर्नुभएको थियो । दुवै विधेयक बैठकले बहुमतले पारित गरेको हो ।
यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।