परासीमा रामग्रामले बनायो पूर्वाधार विकासमा पाँचवटा नमूना गाउँ




परासी, ७ असोज ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पूर्वाधार विकासमा ५ वटा गाउँलाई नूुना गाउँ बनाएको छ ।

 




नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले नगरको ५ वटा गाउँमा भौतिक पूर्वाधार विकास गरी गाउँलाई सुन्दरीकरण गरेको छ ।

 

पालिकाले वडा नम्बर ७ को उजैनी, वडा नम्बर ९ को जोकवार–ललितपुर, वडा नम्बर १० को लंकहवाँ, ११ को रानीपाकड र १२ को कुनवार गाउँमा भौतिक पूर्वाधार विकास गरी ती गाउँहरुलाई नमूना गाउँको रुपमा विकास गरेको छ ।

 

सघन शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले छनौट गरेका ती ५ वटा नमूना बस्ती विकासका लागि गाउँमा बाटो, ढल नाला, फुटफात निर्माण गरी व्यवस्थित गाउँ बनाइएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।

 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनको ४८ करोड लगानीमा नगरपालिकाले छनौट गरेको उक्त नगरका गौरव योजना दिवा एमके जेभी काठमाण्डौले सम्पन्न गरेको नगरपालिकाको प्राविधिक शाखा प्रमुख इञ्जिनियर सतिश गुप्ताले जानकारी दिए ।

 

इञ्जिनियर गुप्ताका अनुसार ती पाँचवटै गाउँमा गरी कुल ११.३ किलोमिटर दुरी कालोपत्रे बाटो निर्माण गरिएको छ भने १९ किलोमिटर दुवै साईड नाला र २२ किलोमिटर दुवै साईड फुटपाथ निर्माण गरिएको जानकारी दिए ।

 

नेपाल सरकारले तराई जिल्लाको सदरमुकाम विकास गर्नका लागि नवलपरासी पश्चिममा मात्रै झण्डै २ अर्ब रुपैया लगानी गर्याे । प्राप्त ती बजेटबाट बुद्धचोकदेखि निलो गेटसम्म ढल, फुटपाथसहित फोरलेन बाटो निर्माण गरियो ।

 

त्यसै रकमबाट बाईपासदेखि महेशपुर चोक र झरही नदीदेखि मंझरिया चोकसम्मको बाटो पनि निर्माण भइरहेको छ भने परासीको साप्ताहिक हाटबजार र ती ५ वटा नमूना गाउँहरुमा भौतिक पूर्वाधारको विकास गरिएको इञ्जिनियर गुप्ताले जानकारी दिए । ती ५ वटै गाउँमा बनाइएको कालोपत्रे बाटो झलझलती चम्किरहेको छ ।

 

गाउँमा बाटो, ढल निकास र फुटफाथ बनेपछि गाउँको सुन्दरता बढ्नुका साथै स्थानीयहरु निकै लाभ समेत लिइरहेको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

 

पूर्वाधारमा नमुना बनाइएका ती गाउँहरुमा अब हरियाली बनाउन वृहत वृक्षारोपण गर्ने, सोलार बत्ती र ट्राफिक नियमका सिग्नल जडान गर्ने र विभिन्न चेतनामूलक साईनबोर्डहरु राखिने नगरप्रमुख गुप्ताले जानकारी दिए ।

 

ती गाउँहरुका खरफुसका घरहरुलाई पनि व्यवस्थित गर्ने पालिको योजना रहेको छ । बाटो र फुटपातले ती गाउँहरुमा ल्याएको सुन्दरता हेर्न लायक छ ।

 

बनाइएका बाटाहरुमा फोहोर र निर्माण सामग्री नराख्न स्थानीयलाई नगरपालिकाले आग्रह गर्दै ती बाटो र ढलहरुको संरक्षणमा सम्बन्धित वडाका जनप्रतिनिधि र स्थानीयहरु लाग्नपर्ने पालिकाले आग्रह गरेको छ ।

 

नगरप्रमुख गुप्ताले आगामी आर्थिक बर्षमा नगरका विकट र पर्यटकीय क्षेत्र रहेका गाउँहरुलाई प्राथमिकतामा राखी यस्तै खालको बाटोहरु निर्माण गर्ने योजना रहेको बताए ।

 

पालिकाले परासीको सुन्दरीकरणका लागि महेशपुर चोकमा घण्टाघर समेत निर्माण गरिहेको छ भने रामग्राम ६ पोखरापालीमा व्यस्थत मनोरम पार्क पनि बनाई रहेको पालिकाले जनाएको छ ।



सम्बन्धित
Loading...