नवलपुर कांग्रेसमा एक्कलिए पौडेल, देउवालाई शशांकको साथ


 



नेपाली कांग्रेस नवलपुरमा वरिष्ठ नेता रामचन्द्र पौडेल एक्कलिएका छन् । केन्द्रमा शीर्ष नेताबीच मतभिन्नता रहे पनि अधिकांश जिल्लामा केन्द्रको गुटले काम गरेको छैन ।

 

पार्टीको १४ औँ महाधिवेशनअन्तरगत पालिका तहको अधिवेशन चलिरहेका बेला पौडेल गुटमा रहेका डा. शशांक कोइरालाको निर्वाचन जिल्ला, नवलपुरमा भने केन्द्रको भन्दा ठीकविपरीत गठबन्धन बनेको छ ।

 




केन्द्रमा सभापतिको उम्मेदवार बन्न रस्साकस्सी गरिरहेका शशांक कोइरालाले जिल्लामा भने पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर गठबन्धन बनाएका छन् ।

 

देउवा र कोइरालाको गठबन्धनले नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा जित हात पारेको छ भने २ वटामा वरिष्ठ नेता पौडेल समूहका उम्मेदवारले नेतृत्व सम्हाल्ने मौका पाएका छन् ।

 

देउवाले पार्टी ध्वस्त बनाएको र देउवालाई हराउन आफू सभापतिको उम्मेदवार बन्नुपर्ने दाबी गरेका शशांकले उनै देउवासँग साँठगाँठ गरेका छन् ।

 

नवलपुरको गैडाकोट नगरपालिकामा शशांक निकटका सभापतिका उम्मेदवार बद्री सापकोटाले पौडेल समूहका खेम सापकोटालाई हराए । जित हात पारेका सापकोटा शशांक निकटका भए पनि उनलाई शेरबहादुर समूहले पनि सहयोग गरेको थियो ।

 

देवचुली नगरपालिकामा भने पौडेल समूहले बाजी मारेको छ । यहाँ सभापतिका उम्मेदवारद्वय डिल्लीराम कडरिया र रविलाल सापकोटाले १४७-१४७ मत प्राप्त गरेपछि गोला प्रथाबाट नेतृत्व चयन गरियो । गोलाप्रथा गर्दा पौडेल समूहका कडरिया सभापति बने ।

 

त्यस्तै बुलिङटार गाउँपालिकामा शशांक र शेरबहादुरका साझा उम्मेदवार ओमकुमार श्रेष्ठ सर्वसम्मत सभापति बने । कमजोर क्षेत्र भएकोले वरिष्ठ नेता पौडेल समूहले आफ्नो उम्मेदवार नै उठाएन ।

 

बुङ्दीकाली गाउँपालिकामा केबी राना निर्वाचित भए । शशांक र शेरबहादुर निकटका रानाले पौडेल समूहका मनबहादुर सारुलाई हराएका हुन् ।

 

कावासोती नगरपालिकामा पौडेल समूहले प्यानलनै जित हात पार्यो । यहाँ पौडेल समूहका नेता शालिग्राम ढकालले शशांक र शेरबहादुर देउवाका साझा उम्मेदवार अमृतकुमार श्रेष्ठलाई हराए ।

 

त्यस्तै हुप्सेकोट गाउँपालिकामा शेरबहादुर देउवा समूहले प्यानल नै जित हात पार्यो । यहाँ देउवाका उम्मेदवार बलबहादुर रानाले पौडेल समूहका ओमनसिंह रजालीलाई हराए ।

 

मध्यविन्दु नगरपालिका पनि देउवा समूहका उम्मेदवारले सभापतिसहित प्यानल नै जितेको छ । देउवाका उम्मेदवार दोमन भण्डारीले पौडेल समूहका कुलबहादुर गुरुङलाई हराए ।

 

त्यस्तै विनय त्रिवेणी गाउँपालिकामा पनि देउवा समूहका अजितकुमार श्रेष्ठ सभापति निर्वाचित भए । उनले पौडेल समूहका गम्भीर श्रेष्ठलाई हराएका हुन् ।

 

नवलपुरमा पालिकास्तरको अधिवेशनमा देउवाको तर्फबाट विष्णुकुमार कार्कीले नेतृत्व सम्हाले भने पौडेल समूहको नेतृत्व महेन्द्रध्वज जिसीले गरे । शशांक समूहको नेतृत्व उनका स्वकीय सचिव भरत तिवारीले गरेका थिए ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेल भने देउवा-कोइरालाको गठबन्धनबारे आफूलाई जानकारी नभएको बताए ।

 

‘महामन्त्रीको पकड क्षेत्र भनेको पूर्व हो पश्चिममा उहाँको खासै छैन । उहाँहरुले के-के गर्नुभयो थाहा छैन । हाम्रो उम्मेदवारहरुले कतै जित्नु भयो कतै हार्नु भयो’ पौडेलले भने ।



सम्बन्धित
Loading...