चितवन मानव सेवा आश्रद्धारा १७० जनाको उद्धार
उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो ।
चितवन मेडिकल कलेजका सञ्चालक ममता शर्मा न्यौपानेको समूहले सत्य साई सङ्गठनमा बाल आश्रम सञ्चालन गर्दै आएको छ । बालबालिका उद्धारकै क्रममा सडकमा भेटिएका अभिभावकलाई उद्धार गरी चितवन मेडिकल कलेजमा निःशुल्क उपचार गर्न थालियो । उपचारपछि कहाँ राख्ने भन्ने समस्या आएपछि आश्रम स्थापना गरिएको न्यौपानेले बताइन ।
उनेले भने, “बच्चालाई बाल आश्रममा राखियो, उपचारपछि अन्यलाई राख्न यो आश्रम खोलेका हौँ, उपचार चितवन मेडिकल कलेजमा निःशुल्क रुपमा गरिँदै आएको छ, औषधि पनि त्यही फार्मेसी सञ्चालन गर्ने सरोज ज्ञवालीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आउनुभएको छ ।”
सडकमा यसरी भेटिएकामा बढी मात्रामा मानसिक समस्या देखिने गरेको छ । यसका अतिरिक्त विभिन्न खालका रोगव्याधी बोकेर सडकमा पुगेका हुने गर्दछन् । कतिपय सडकमै पुगेपछि अन्य रोगबाट ग्रस्त हुने गर्छन् । आश्रमका अध्यक्षसमेत रहेका न्यौपानेले भने, “एउटै बिरामीलाई तीन महिनासम्म आइसियु र सात महिनासम्म अस्पतालमा राखेर बचाएका छौँ ।”
भरतपुर महानगरपालिका–९ संगम टोलमा रहेको आश्रममा हाल २९ महिला, आठ पुरुष र एक बच्चा रहेका छन् । यसअघि आश्रम भरतपुर–१२ को आस्थाचोकमा रहेकामा हाल सो ठाउँमा राखिएको हो । विसं २०७२ भदौ २७ गते स्थापना गरिएको यस आश्रमबाट हालसम्म १७० जनाको उद्धार गरिसकिएको छ । न्यौपानेका अनुसार ८७ जनाको पुनःस्थापना गरिएको छ । आश्रममा रहँदै गर्दा ३३ जनाको मृत्यु भएको छ ।

आश्रममा एक सिएमए, एक अनमी, एक व्यवस्थापक र दुई सहयोगी छन् । आश्रितलाई स्वास्थ्य सेवा चाहिरहने हुँदा स्वास्थ्यकर्मी नै राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एक वर्षमा औषधोपचारमा रु ४० लाख हाराहारी खर्च हुँदै आएको छ । त्यसमध्ये रु १० लाख हाराहारी औषधिमा खर्च हुने गर्दछ । (रासस)