हत्या गरिएको अवस्थामा महिलाको शव बरामद
महोत्तरी– महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव निजको आफ्नै घरको बरण्डामा राखिएको अवस्थामा फेला परेको हो ।
टाउकामा घाऊ चोट रहेको, अनुहार र शरीरका अन्य भागमा पनि विभिन्न चोटपटक रहेको अवस्थामा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताए ।
पति सुरेन्द्र रोजगारीका क्रममा भारतको पञ्जाब बस्दै आएका र महिलाको हत्या पारिवारिक समस्याका कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा युवकको मृत्यु
.
जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
काठमाडौँबाट ज १२ प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
.

