‘मिटर व्याज’ले निम्त्यायो शर्मिलाका विलापका दिन
रामशरण गैरे –
चितवन । कोरोनाको महामारीका बेला जीविका चलाउनै समस्या परेपछि चितवनको भरतपुर–१७, बेलुवा टोलकी शर्मिला महतोले केही रकम उधारो लिन आफन्तको शरणमा पुगिन् ।
पैसा त पाइन्छ, तर व्याज अल्लि बढी लाग्छ भन्दै नाताले बुहारी पर्ने अनु महतोबाट पचास हजारको मिटर व्याजी हिसाबले प्रतिदिनको एक हजार लाग्ने भन्दै उनले रकम लिइन् ।
प्रत्येक दस दिनमा व्याज नबुझाए व्याज सावाँमा जोडिएर २० प्रतिशतका दरले व्याज बढ्ने उनको सर्त थियो ।
आवश्यकताले उनको सर्त मञ्जुर गर्न जरूरी नै थियो, उनलाई केही दिनपछि छिमेकी वा समूहबाट पैसा निकालेर दिने भन्दै पैसा लिएर उनले घरखर्च चलाइन् ।
५० हजार उधारो लिएकी उनको हेर्दाहेर्दै १० दिनमा ६० हजार, बीस दिनमा ७२ हजार, ३० दिनमा ८५ हजार हुँदै दुई महिनामा एक लाख तीन हजार हुँदै प्रत्येक दस दिनमा २० प्रतिशतका दरले बढ्दै गएको उनी बताउँछिन् ।
अनुले पछि पैसा माग्न थालिन् । रकम नदिएमा डरत्रास देखाई धम्की दिएर बाहिर हिँडडुल, घुमफिर गर्न बन्देज गराई आपराधिक गिरोहसमेतको प्रयोग गरेर ज्यान मार्छु भनी धम्की दिन थालेपछि उनैले देखाएका ठाउँमा पैसा लिन पुगेको पीडित शर्मिला बताउँछिन् ।
‘सुरूसुरूमा त थोरै पैसा लिउन्जेल व्याज पनि मजाले हिसाब गरेर मलाई पठाउँथिन्, मैले ऋण दिनेलाई दिन्थेँ र उनीहरु खुसी हुन्थे । पुनः मैले बढी पैसा मागे दिन्थे, म निरीह हुँदै दिँदै गएँ, अनि पीडाको जीवन जिउँदै गएँ । लगानी पनि विभिन्न स्थानमा थियो । उनका अगाडि म नतमस्तक हुनुको विकल्प थिएन । मेरै लालपुर्जा पनि मागिन् हुन्छ भनेँ, म दिन तयार थिएँ’, उनले भनिन् ।
जग्गा श्रीमान्को नाममा भएकाले बैंकका कर्मचारीको मिलोमतोमा बैंकबाट पैसा झिकेर लालपुर्जा हराएछ भनेरसमेत ढाँटेको उनी बताउँछिन् ।
बढी व्याज पाइने लोभमा मिटर व्याजमा गरिएको ठूलो लगानी रकम डुब्ने देखिएपछि कैयौँको घरबार बिचल्ली भएको बेलुवा टोल विकास संस्थाका अध्यक्ष यमप्रसाद पौडेल बताउँछन् ।
यसको कारोबारमा किसान, व्यापारी वर्गदेखि लिएर सम्पन्न परिवारका व्यक्तिसमेत संलग्न छन् । आकर्षक व्याजको लोभमा आफन्तसमेतको लाखौँ रूपैयाँ मिटर व्याजमा डुबाएको उनले गुनासो गरे ।
मिटर व्याजको कारोबारको नेतृत्व पुरूषभन्दा बढी महिलाले नै लिने गरेको देखिएको छ ।
लगानी भएको रकम समयमै भुक्तानी नहुँदा महिला–महिलाबीच नै कुटाकुटसमेत भएको बताउँदै उनले सरकारी नियम, कानुनविपरीत चर्को व्याजमा नगद लिने र दिने गरिन्छ ।
एउटाबाट अर्काले ऋण लिँदा अग्रिम २० प्रतिशत रकम कटौती गरी दिइन्छ र हरेक महिना पूरै सावाँ रकमको दसदेखि २३ प्रतिशतसम्म व्याज असुल गर्ने गरी पाइएको उनले बताए ।
ऋण दिने र लिनेको कुनै कानुनी आधार नै हुँदैन, तसर्थ सामाजिकरुपमा दबाब दिएर रकम असुल गराउने अभियान थालेको भन्दै कानुनी कारबाही थालिने उनले बताए ।
