नवलपुरमा ‘नो लालपूर्जा नो भोट’ अभियान


 

 



रामकुमार श्रेष्ठ –

 




नवलपुर । पूर्वी नवलपरासीमा पनि नो लालपूर्जा नो भोट अभियान थालिएको छ ।

 

 

बुधबार देवचुली नगरपालिकाको देलदलेदेखि नगरपालिकासम्म नो लालपूर्जा नो भोट लेखिएको प्लेकार्ड, ब्यानर सहित र्याली निकालिएको थियो ।

 

 

नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला कार्य समिति नवलपुरको आयोजनामा र्याली निकालिएको हो । र्याली दलदले बजारबाट देवचुली नगरपालिकासम्म पुगेको थियो । र्याली नगरपालिका पुगेपछि नगरपालिकाको सभाहलमा कार्यक्रममा परिणत भएको थियो ।

 

 

नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला कार्य समिति नवलपुरका अध्यक्ष टिकाराम काफ्लेले नेपालमा चुनावका बेला नेताहरुले धेरै पटक भूमिहिन तथा सुकुम्बासीहरुलाई जग्गा र जग्गाधनि लालपूर्जा दिलाई दिने आश्वासन दिए पनि कहिले उपलब्ध नगराएको कारण भूमिहिन सुकुम्बासीले लालपूर्जाको प्रमाणपत्र नपाएसम्म भोट नदिने अभियान थालिएको बताए ।

 

 

 

कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले अब पनि जनतालाई भोटका लागि मात्रै लालपूर्जा दिन्छु भनेर छुक्काउने नेताहरुलाई बहिस्कार गर्ने र अबको चुनाव बहिस्कार गर्ने सम्मको चेतावनी दिए ।

 

 

उनले भने – अब उधारोमा भोट दिइन्न । लालपूर्जा दिने लालचमा जनतालाई भोट दिन बाध्य पार्ने तर जनतालाई पटक पटक झुक्काउने गरेको छ । अब पनि लालपूर्जा प्रमाण पत्र नपाए चुनाव बहिस्कार गरिन्छ ।

 

 

२०१३ साल यता २४ वटा आयोग, २८ वटा प्रधानमन्त्री बने पनि कुनै पनि आयोग र प्रधानमन्त्रीले भूमिहिन तथा सुकुम्बासीहरुको आवाज नसुनेको उनले आरोप लगाए ।

 

 

 

उनले यो अभियानलाई मेची महाकाली अभियानको रुपमा लैजाने पनि बताए ।

 

कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका महासचिव राजु तामाङ, देवचुली नगरपालिकाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

 

 

नवलपुरमा ३३ हजार बढी भूमिहिन तथा सुकुम्बासी रहेका छन् । उनीहरुले आगामी निर्वाचन अगावै भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा पाउनु पर्ने माग अगाडि सारेका छन् । जस अन्तरगत देशव्यापी रुपमा जनजागरण तथा खबरदारी अभियान थालेका छन् ।

 



सम्बन्धित
Loading...