नवलपुरमा महिला-हिं’साः श्रीमानबाटै बला’त्कारदेखि बहु-विवाहसम्म
नवलपुर । पूर्वी नवलपरासीमा श्रीमानबाटै बलात्कारदेखि बहुविवाहसम्मका महिलाहिंसाका घटनाहरु भएको पाइएको अधिकारकर्मीहरुले बताएका छन् ।
महिलाहिंसाका अधिकांश घटना घरबाटै र चिनेजानकैबाट हुने गरेको बताउँदै महिला हिंसा रोक्नका लागि सबैले आआफ्नो घरबाटै अभियान थाल्नु पर्नेमा कावासोतीमा बुधबार आयोजित कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।
‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तरगत बुधबार कावासोतीमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ अभियानका साथ नवलपुर जिल्लाका लैंगिक हिंसा पीडितहरुको गुनासो सुनुवाई एवम् सरकारसँग जनताको अपेक्षा विषयक अन्तरसंवाद कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहभागी महिलाहरुले महिलाहरु आफ्नै श्रीमानबाट बलात्कार हुनुका साथै श्रीमान्ले बहुविवाह गरेपछि उत्पन्न समस्याका बारेमा कार्यक्रममा सहभागी सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, जनप्रतिनिधि एवम् सम्बन्धित सरकारी निकायका प्रमुखहरु समक्ष गुनासो गरेका थिए । उनीहरुले आफूहरुले पटक पटक वडा कार्यालय, प्रहरी, प्रशासन, न्यायिक समितिदेखि अदालतसम्म धाउँदा पनि उचित न्याय पाउन नसकेको गुनासो समेत गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले महिला हिंसा अन्त्यका लागि सबैभन्दा पहिला महिलाहरु स्वयम आत्मनिर्भर हुनु पर्ने र त्यसका लागि महिलाहरुले आयआर्जनमा जोडदिनु पर्नेमा बताए ।
मन्त्री श्रेष्ठले महिला पुरुष दुवै बराबर हुम् भन्ने भावनाको विकास गरी महिलापुरुष दुवैले एकअर्कामाथि हुने कुनै पनि हिंसा रोक्न सके महिला हिंसा न्यूनिकरण हुने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद ओमकला गौतम, लक्ष्मी सुनारले महिला हिंसा अन्त्यका लागि जनप्रतिनिधिहरुले खेल्नु पर्ने भूमिका निर्वाह गर्न आफूहरु कहिलै पछि नहट्ने प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा नवलपुर जिल्ला अदालतका जिल्ला न्यायाधिवक्ता बाबुराम अधिकारी र नागरिक समाजकातर्फबाट विजय विकास केन्द्रका लक्ष्मी गौतमले नवलपुरमा महिला हिंसाको अवस्थाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
उनीहरुको प्रस्तुतिमा सबैभन्दा बढी महिला हिंसा घरबाट हुने गरेका पाइएको बताएका थिए । त्यसैगरी बोक्सीको आरोपमा हुने हिंसा, बलात्कार जस्ता जघन्य अपराध नवलपुरमा कायमै रहेको उनीहरुको तथ्यांकमा उल्लेख गरिएको थियो ।
पिएलजीएसपी, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र कोपिला नेपालको समन्यवमा कार्यक्रमको आयोजना गरिएको हो ।













