नवलपरासीमा सामुहिक बलात्कारका १० जनालाई १३ वर्ष कैद
हरि शर्मा –
परासी, २१ मंसिर । सामुहिक बलात्कार गर्ने १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
घटना २ वर्षअघिको हो । जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामुहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए ।
जबरजस्ती करणी ठहर भएमा ७ देखि १० वर्ष र सामुहिक ठहर भएमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
जिल्ला न्यायधीश अशोककुमार बस्नेतको इजलासले सोमबार गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरुप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार पौडेलले बताए ।
घटनामा संलग्न १० मध्ये ९ जना घटना लगत्तै पक्राउ परेका थिए । १ जना अझ पनि फरार छन् । जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीय युवतीलाई २०७६ भदौ २२ गते उनीहरुले सामुहिक बलात्कार गरेका थिए ।
पीडित युवती स्थानीय एक संस्थामा कार्यरत हुन् । संस्थाको काममा साथीसँग मोटरसाइकलमा जाँदै गरेकी युवतीलाई बाटो कुरेर बसेका उनीहरुले उखुबारीमा लगेर सामुहिक रुपमा जबरवस्ती करणी गरेको युवतीको बयानमा उल्लेख छ ।
मोटरसाइकलले घेरा हालेर युवती चढेको मोटरसाइकल उनीहरुले कब्जामा लिएका थिए । सुरुमा मोटरसाइकल चलाउने साथीलाई ४ जनाले बाँधेर राखेका थिए ।
https://www.youtube.com/watch?v=H1AnAP3ize8
अन्य ६ जनाले युवतीलाई उखुबारी भित्र लगेर सामुहिक बलात्कार गरेका थिए । पछि पुनः अन्य ४ जनाले बलात्कार गरेको बयानमा उल्लेख छ ।
युवतीले बयानमा भनेकी छन्–‘ मुख थुनेर सुरुमा ५ जनाले जबरवस्ती गरे । त्यसपछि म बेहास भए ।’ बेहोस भएकी उनको अस्पतालमा होस खुलेको थियो ।
घटना पश्चात अपराधी भागेपछि युवतीका साथीले प्रहरीलाई खबर गरेका थिए । सोही दिन उनीहरु पक्राउ परेका थिए ।
घटनामा संलग्न उनीहरु युवतीको गाउँ नजिकैको अर्को गाउँका हुन् । बलात्कार गर्नेको नाम थाहा नभएपनि गाउँ नजिक भएकाले देख्ने गरेको पीडितले बताएकी छन् । उनीहरुसँग कहिल्यै पनि बोलचाल नभएको समेत पीडितको भनाई छ ।
घटनामा संलग्न रही सजाय पाउनेमा सुस्ता गाउँपालिका–३ फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दिपप्रसाद यादव, राजु भनिने भीम बहादुर मुसहर, नेत्रबहादुर चौधरी, पिन्टु राजभर छन् ।
त्यसैगरी सजाय पाउनेमा सोही वडाको सेखवाना गाउँका अमरनाथ भेडियार र सागर चौधरी (फरार) छन् । उनीहरु सबैको उमेर १९ देखि ४० वर्ष छ ।
