नवलपुरमा प्रहरीको कुटपिटमा मजदुर गम्भीर घाइते
नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीको कुटपिटबाट एक जना मजदुर घाइते भएका छन् ।
पूर्वी नवलपरासीको कावासोती ३ केरुङ्गे खोलामा रातको समयमा गिटी लिन गएका मजदुरलाई प्रहरीले मराणासन्न हुने गरी कुटपिट गरेको स्थानीयले जनाएका छन् ।
प्रहरीको कुटपिटबाट कावासोती ३ निवासी लु ३ त ४९४० नम्बरको ट्याक्टर चालक ढकबहादुर महतोका छोरा २८ बर्षीय तिलक महतो घाइते भएका हुन् । उनको छाती र ढाडमा चोट लागेको बताइएको छ । उनको अहिले मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डामा उपचार भईरहेको छ ।
प्रहरीले लातीले छातीमा हानेको र ढाड ट्याक्टरको ट्रलीमा ठोकिन पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आइतबार राति ११ः३० बजेतिर मादक पदार्थ सेवन गरेर सिभिल पोशाकमा आएका प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
नदीजन्य वस्तुको चोरी निकासी रोक्नका लागि प्रहरीले गस्तीको क्रममा प्रहरी माथि नै हातपात भएपछि सामान्य धकेलाधकेल मात्र भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । उनका अनुसार ट्याक्टरमा रहेका मदजुरहरुको आक्रमणबाट केही प्रहरी घाइते भएका छन् ।
मजदुरतर्फ कुनै कुटपिट नभएको मल्लको दावी छ । मल्लले भने – पक्राउ परेको मध्ये तिलक महतोले आफूमाथि कुटपिट भएको दावी गरेपछि मध्यविन्दु जिल्ला अस्पतालमा मेडिकल चेकअपका लागि पठाइएको छ ।
अस्पताल स्रोतका अनुसार महताको छातीमा रगत जमेको आशंका गरिएको छ । तथापि भिडियो एक्सरे रिपोर्टबाट स्वास्थ्य अवस्था यहि छ भन्ने एकिन गर्न नसकिने अवस्था भएकोले सिटिस्कानको लागि भरतपुर पठाइने तयारी भएको छ । घाइतेको चेकअपमा खटेका एक जना डाक्टरले भने –उनको अवस्था सामान्य छ भन्न मिल्ने अवस्था छैन, भिडियो एक्सेर गरेर हेरियो, भिडियो एक्सरेबाट मात्र पूर्ण विवरण नआउने भएको थप चेकअपको लागि सिटिस्क्यान गर्न पठाइएको छ ।
घाइते युवकका बुवा ढकबहादुर महतोका अनुसार उनको ढाडमा चोट लागेको छ भने हिड्नै नसक्ने गरी बाहिरी चोट देखिएको छ ।
https://www.youtube.com/watch?v=kR6iPKNxL9s
प्रत्यक्षदर्शीका अनुसार सादा पोशाकमा आएका प्रहरीले मादकपदार्थ सेवन गरेर आएका थिए । ट्याक्टरमा गएको ५ जना मजदुरहरु मध्ये केही मजदुर भागेको र ३ जनालाई पक्राउ गरेर लगेको स्थानीयले बताए ।
प्रहरीले लु ३ त ४९४० नम्बरको ट्याक्टर र ट्याक्टर चालक सहित ३ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मल्लले बताए । मध्यरातमा गैरकानुनी कार्य गर्ने र पक्राउ परेपछि बच्नका लागि कुटपिट भएको आरोप लगाएको मल्लले बताए ।
मल्लले प्रहरी माथि नै उनीहरुले ज्यान लिने किसिमले आक्रमण गरेको र सोही क्रममा सामान्य धकेलाधकेल मात्र भएको दावी गर्दै आएका छन् । मल्लले मेडिकल रिपोर्टमा केही नदेखिएपछि थप पुष्टिका लागि सिटिस्क्यान गर्न लैजाने तयारी भएको बताए ।



