नवलपुरमा ६० बर्ष नाघेका विक दम्पतीले लिए नागरिकताको प्रमाण पत्र
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा ७० बर्ष नाघेका बोल्न नसक्ने श्रीमानश्रीमतीले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय नवलपुरबाट नागरिकताको प्रमाण पत्र लिएका हुन् ।
२०१२ साल कात्तिक १० गते जन्मनुभएका गोपाल विकले ६८ बर्षमा र उनीकी श्रीमती २०१६ साल मंसिर १५ गते जन्मनुभएका खिनमाया विकले ६२ बर्षमा नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।
विक दम्पतीसँगै उनका छोरा बुहारीले पनि बुधबार नेपाली नागरिकताको प्रमाण पत्र पाएको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन्।
नवलपुरको बुलिङटार गाउँपालिका १ निवासी विक दम्पतिले नेपाली नागरिकताको प्रमाण पत्र नपाउँदा राज्यबाट पाउने हरेक सेवा सुविधाबाट बन्चित भएका थिए। आफ्नै देशभित्र गैह्र नागरिक भएर बाच्नु परेको थियो।
पहाडमा नागरिकता टोली गएपनि टोलीले नागरिकता नदिएको र गाउँले तथा जनप्रतिनिधि र वडा सचिव एवम् तत्कालिन गाविस सचिवले समेत चासो नदिएका कारण उनीहरुले नागरिकता पाउनबाट बन्चित भएका थिए।
नागरिकता नहुँदा आफ्नो नाममा लालपूर्जा समेत नआउने भएकोले उनीहरुले राज्यको हरेक क्षेत्रबाट बन्चित हुन पुगेका थिए।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले भनिन् – बोल्न नसक्ने रहेछन्। त्यसैले पनि सबैले उपेक्षा गरेको रहेछ। मैले थाहा पाउना साथ लिएर आउन भनेर सबै कागजी प्रक्रिया पुरा गरेर नागरिकता दिलाए।
६० कटिसकेपछि पनि नागरिकता पाउँदा उनीहरुलाई संसार जितेको आभास भएको थियो। नागरिकता हातमा लिएर गहभरी आँसुलिएर उनीहरुले प्रमुख जिल्ला अधिकारीसँग फोटो खिचेर खुसी साटेका थिए।
प्रमुख जिल्ला अधिकारी पंगेनीले यसरी नागरिकताबाट बन्चित नेपाली नागरिकहरुलाई आफूहरुले खोजी खोजी नागरिकता दिएको बताइन् । त्यसैगरी अपा·ता भएका धेरैलाई घरघरमै गएर नागरिकता वितरण गरेको पंगेनीले बताइन् ।
त्यसैगरी १६ दिने महिला हिंसा विरुद्धको अभियानका बेला १ सय ५० जना हिंसापीडित महिला र उनका सन्तानलाई नागरिकता उपलब्ध गराएको पंगेनीले दाउन्ने साप्ताहिकलाई जानकारी दिइन्।




