डेढ महिनाको अवधिमा नवलपरासीमा ६० जना फरार अभियुक्त पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले पछिल्लो डेढ महिनाको अवधिमा ६० जना फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ ।
यसैबीच बुधबार थप दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार बुधबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक जना कुटपिट अंगभंग मुद्धामा फरार अभियुक्त छन् भने एक जना गाली बेइजती मुद्धामा फरार अभियुक्त रहेका छन् ।
नवलपरासी जिल्ला अदालतबाट कुटपिट अंगभंग मुद्दामा २०७५ बैशाख २३ गते फैसला भई तत्काल १ बर्ष ८ महिना कैद र १ लाख रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका एक जना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले निजकै स्थायी वतन जिल्ला नवलपरासी पाल्हिनन्दन गाँउपालिका वडा नं. ३ कुश्माबाट पक्राउ गरेको शाहीले बताए ।


त्यसैग्री २०७३ साल चैत्र १४ गते नवलपरासी जिल्ला अदालतबाट गाली बेइजती मुद्दामा फैसला भई तत्काल १५ दिन कैद र १ सय रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका अर्का एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजको स्थायी वतन जिल्ला नवलपरासी सरावल गाउँपालिका वडा नं. ५ वडहरा दुवौलियाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि बुधबार नै नवलपरासी जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानका लागि कारवाही अगाडि बढाइएको शाहीले बताए ।