नवलपरासीका विभिन्न स्थानबाट ११ जना फरार अभियुक्त पक्राउ


 



नवलपरासी (पश्चिम) प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ११ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

 

नवलपरासी जिल्ला अदालतबाट २०५२ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका वन मुद्धाका ६ जना, गाली बेईजती मुद्धाका १ जना, सवारी अंगभंग मुद्धाका १ जना, जालसाजी मुद्धाका २ जना र सार्वजनिक मुद्धाका १ जना गरी जम्मा ११ जना फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको हो ।

 

 




जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट ४ जना, सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट ३ जना र बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट ४ जना फरार अभियुक्त पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)का सूचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए ।

 

 

अदालतको लगत अनुसार पक्राउ पर्नेमा अधिकतम सजाय वन मुद्धाका ३ जना अभियुक्तको जनही १ महिना कैद र १७ हजार ९२० रुपैयाँ जरीवाना तोकिएको छ भने न्यूनतम सजाय गाली बेईजती मुद्धाका एक जना अभियुक्तको ३२ रुपैयाँ जरीवाना रहेको छ ।

 

 

आज पक्राउ परेका ११ जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय ४ महिना १० दिन कैद र ७७ हजार २ सय ४९ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरीएका सबै ११ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि शुक्रबार अदालतमा पेश गरिएको उनले बताए ।

 

 

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट २०७८ मंसिर २८ गतेदेखि यता हासम्म विभिन्न मुद्धाका ८० जना फरार अभियुक्त पक्राउ गरी अदालतमा पेश गरिएको शाहीले जानकारी दिए ।

 

 

 



सम्बन्धित
Loading...