नवलपुरमा एक बर्षमा २० जना बालिका बलात्कारको सिकार

चोरमारा । पूर्वी नवलपरासीमा १ बर्षमान २० जना बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले आइतबार कावासोतीमा आयोजना गरेको कार्यक्रममा सन् २०२१ मा भएको मानव अधिकार हननका घटनाहरु सार्वजनिक गर्ने क्रममा यस्तो तथ्य बाहिर ल्याएको हो ।
कार्यक्रममा इन्सेक नवलपुर जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले सन् २०२१ मा नवलपुरमा २२ वटा बलात्कारका घटना दर्ता भएकोमा २० जना बालिकाहरु पीडित रहेको बताए ।
डुम्रेका अनुसार यस बर्ष नवलपुरमा एक जना बालिकाको बलात्कारपछि हत्या समेत भएको छ ।
यस्तैगरी ३ वटा यौन दुव्यवहारका घटनामा ३ जना बालिकाहरु पीडित भएका छन् ।

त्यसैगरी यस वर्ष नवलपुरमा दुई जना बालिकाको परिवारका सदस्यहरुबाट हत्या भएको डुम्रेले कार्यक्रममा जानकारी दिए ।
यस्तै यस वर्ष १ वटा बाल बिबाह सम्बन्धी घटना वर्ष पुस्तकको लागि अभिलेखिकरण गरिएको उनले बताए ।
कार्यक्रममा इन्सेक नवलपुर जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले नवलपरासी पूर्व नवलपुरमा सन् २०२१ वर्ष पुस्तकको लागि संकलन गरेको ४९ वटा घटनाहरुको तथ्यांकगत अवस्था जानकारी गराएका थिए ।
उनका अनुसार नवलपुरमा यस बर्ष मानव अधिकार उल्लंघनका ४९ वटा घटनाहरु भएका थिए । जसमा सबैभन्दा धेरै बालबालिकाहरु परेको तथ्यांकमा उल्लेख गरिएको थियो ।
यस्तै पाँच वटा बलात्कारको घटनामा पाँच जना महिलाहरु पीडित भएको उनले जानकारी दिए ।
नवलपुरमा सन् २०२१ मा चार वटा बलात्कारको प्रयास घटनामा ४ जना महिला पीडित भएको, ६ वटा घरेलु हिंसाका घटनाहरु भएको पुस्तकमा उल्लेख गरिएको छ ।
जिल्लामा ४ वटा मानव बेचबिखन तथा ओसारपोसार घटनामा ५ जना महिला पीडित भएको घटना अभिलेखिकरण गरिएकोमा तिन वटा घटनामा आरोपितलाई नवलपुर जिल्ला अदालतले सफाई दिएको छ ।
यस्तै कालो मोसो लगाएर अभद्र व्यवहार गरिएको १ वटा घटना अभिलेखिकरण गरिएको छ ।
यस्तै जिल्लामा निशुल्क शिक्षा कार्यान्वयन नभएको, विद्यालयका शैचालय विद्यार्थी संख्या अनुसार नरहेको, सेनेटरी प्याडहरु निशुल्क वितरण गरिएको भएपनि त्यसको डिस्पोेज स्थलहरु निर्माण नगरिएको लगायत शिक्षा सम्बन्धि सवालहरु पहिचान गरिएको उनले बताए ।
यस्तै सरकारले विभिन्न तहका स्वास्थ्य चौकी मार्फत निशुल्क वितरण गर्ने औषधीहरुको पूर्ण उपलब्धता नरहेको, सरकारी स्वास्थ्य संस्थाबाट वितरण हुने औषधीहरुको बारेमा नगरिकहरु जानकार नरहेको र स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनको बारेमा व्यापक गुनासो भेटिएको उनले जानकारी दिए ।
https://www.youtube.com/watch?v=oA4yGwvlm_o&t=105s
यसैगरी नियमित बजार अनुगमन नहुँदा बजारमा म्याद गुज्रीएको खाद्यन्न बिक्रि वितरण हुने गरेको तथा मुल्यमा एकरुकता नहरको गुनासो आम उपभोक्तामा रहेको डुम्रेले बताए ।
यसैबीच कार्यक्रममा नवलपरासी पूर्व नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले मानव अधिकार संरक्षणको लागि सबैको साझा पहल आवश्यक रहेको बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समिक्षा कार्यक्रममा बोल्दै उहाँले मानव अधिकार राज्यबाट मात्रै हनन् भयो भन्ने भन्दा पनि यसको संरक्षण र सही सिकाई कार्यान्वयनको लागि सबैको साँझा पहल आवश्यक रहेको उनले बताए ।

इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकले नेपालको मानव अधिकारको अवस्था बारे उजार गर्दै आएको भन्दै उहाँले धेरै विषयहरुलाई समेट्न सके यसको प्रभावकारीता थप बढ्ने सुझाव दिए ।

नवलपुरमा बाल बिबाह, बाल श्रम, स्वास्थ्यको क्षेत्र सहितका सवालहरुमा सबैको सहकार्यले समस्याहरु समाधान गर्न सकिने सो क्रममा उनले बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले मानव अधिकारको क्षेत्र व्यापक रहेको भन्दै अपराध संगै शिक्षा, स्वास्थ्य लगायत सबै प्रकारका अधिकारहरुको क्षेत्रमा आवाज उठाउन र यस्ता विषय समेत पुस्तकमासमेट्न सुझाव दिए ।
तथ्यांकगत रुपमा बाल बिबाहको घटनामा उजुरी दर्ता नहुदा नदेखिएको भएपनि यो समस्या नवलपुरमा ज्यादै रहेको प्रहरी उपरीक्षक मल्लले बताए ।
https://www.youtube.com/watch?v=jtMNS3TsNtk
नदीजन्य पदार्थको अवैध निकासीमा बाल श्रमिक प्रयोग हुने गरेको गुनासो आएको भन्दै त्यसको लागि आफ्नो कार्यालयको तर्फबाट सचेतनाको काम गरिरहेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका सभापति बिरेन्द्र पराजुलीले इन्सेकले वार्षीक रुपमा प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकले जिल्ला र समग्र राष्ट्रको अवस्था समेत झल्काउने बताए ।
नेपाल मानव अधिकार वर्ष पुस्तक वार्षीक रुपमा इन्सेकले प्रकाशन गर्दै आएको छ ।
