हिमपातमा दुई जना बेपत्ता, भक्तपुर र ललितपुरमा दुई जना मृत फेला

मनाङको नासों गाउँपालिका-४ ओडारका ५३ वर्षीय आच्छ्यु गुरुङ बुधबार बिहानै गोठ गए।
जंगलको बाटो हुँदै गोठ जाँदा उनीसहित तीन जना थिए। गोठमा पुग्दा हिमपात बाक्लो भइसकेको थियो।
जाडो बढेर उनीहरू फर्कन थाले। आच्छ्यु छिटोछिटो हिड्न सकेनन्। उनीसँगै गएका दुई जना छिटो हिँडर गाउँ फर्किए। आच्छ्यु साँझसम्मै फर्केनन्।

बुधबार बिहानसम्म पनि उनी सम्पर्कमा आउन नसक्दा प्रहरीले खोजी थालेको छ। ‘बाक्लो हिमपातका कारण उहाँले बाटो बिर्सिएको हुनुपर्छ,’ मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले भने, ‘हिउँले बाटो पुरिएकाले पहिल्याउनै समस्या भएको छ।’
यस्तै, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ५० वर्षीय रामबहादुर छन्त्याल पनि बेपत्ता छन्।
गाउँबाट भेडा चराउन जंगल गएका छन्त्याल हिमपातपछि सम्पर्कमा आउन सकेका छैनन्। उनले पनि जंगलमा बाटो बिराएको हुनुपर्ने स्थानीयले अनुमान गरेका छन्।
हिमपातका कारण मोबाइल, इन्टरनेट लगायत सञ्चार सेवासमेत बन्द भएको छ। धवलागिरी–१ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले हिमपातमा हराएकाको खोजीमा सञ्चार सेवा अवरुद्ध हुँदा समस्या भएको बताए।
त्यसैगरी उपत्यकाको छुट्टाछुट्टै स्थानमा बिहीबार दुई व्यक्ति मृत फेला परेका छन्। एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२ सानोथिमीस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा वृद्धा मृत भेटिएकी छन्।
मृत्यु हुनेमा काठमाडौंको जडीबुटी बस्ने मकवानपुर हेटौंडा घर भएकी ८० वर्षीया उखुमाया गोले रहेकी छन्।
यस्तै, ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष बिहीबार मृत भेटिएका छन्। अन्दाजी ५०-५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन।
दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ।
