विप्लवको नेपालबन्दको प्रभाव देशभर: कहाँ कहाँ के भयो ? (अपडेट सहित)
गैडाकोटमा फेरि भेटियो अर्को शंकास्पद वस्तु
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको जयश्री पुल नजिकै रहेको बम डिस्फोड गरेको केही समय नवित्दै नजिकै अर्को शंकास्पद वस्तु फेला परेको छ ।
पुलदेखि केही दक्षिणतर्फ शंकास्पद वस्तु भेटिएको गैडाकोट प्रहरीले जनाएको छ । उक्त शंकास्पद वस्तु डिस्फोज गर्नका लागि नेपाली सेनाको टोली त्यसतर्फ लागेको जनाइएको छ ।
बम निष्क्रिय
विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाएको उहाँले जानकारी दिनुभयो ।
बम राखेको हल्लाले विभिन्न स्थानमा जानका लागि विमानस्थल पुगेका यात्रु, राँझा चोकलगायत आसपासका क्षेत्रमा त्रास फैलिएको थियो । बन्दका कारण बाँकेमा शिक्षण संस्था बन्द रहेका छन् भने लामो दूरीका सवारीसाधन चलेका छैनन् ।
नेपालगञ्जमा छोटो दूरीका सवारीसाधन र पसल व्यवसाय आंशिकरुपमा खुलेका छन् । सरकारले दुई दिनअघि घोषितरुपमै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बम विष्फोटका घटनामा वृद्धि भइरहेका छन् ।
कावासोतीको जिल्ला प्रहरी कार्यालय नजिकै बम विस्फोट

नवलपरासी । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कावासोतीको मुख्य चोकमा बिहीबार विहान बम विस्फोट गराएका छन् ।
जिल्ला प्रहरी कार्यालयदेखि करिब डेढ, दुई सय मिटर पूर्व पूर्वपश्चिम राजमार्ग छेउमै विस्फोट भएको हो । विस्फोटको आवाज झण्डै एक किलोमिटर परसम्म सुनिएको थियो ।
विहान साढे ११ बजेतिर विस्फोट भएको हो । सडक सुनसान रहेकोले विस्फोटका कारण कुनै मानवीय क्षति भएको छैन । विस्फोट भएको क्षेत्र नजिकै डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पनि छ भने नजिकै तरकारी बजार पनि छ ।
घटना स्थललाई अहिले जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीले घेरेर राखेका छन् । अन्त पनि बम राखेको हुन सक्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । बम कस्तो र कुन प्रकारको थियो खुल्न सकेको छैन ।
भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=24FdoOLSz-g
विप्लवको बन्दले पोखरा प्रभावित, दुई ठाउँका शंकास्पद वस्तु निस्क्रिय
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ ।
बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु निस्क्रिय गरिएको बताए ।
बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् ।
बुटवलमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालीकानगरमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा बाल्टीमा कालो प्लाटिकले बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको थियो । बुटवल—भैरहवा सडक खण्डको कालीकानगरमा स्पिड ब्रेकरमा राखिएको उक्त शंकास्पद वस्तु ‘इन्प्रोभाइस एक्सप्लोसिभ डिभाइस’ (बम) भएको डिस्पोजका क्रममा पत्ता लागेको हो ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले विष्फोट गर्दा निकै ठूलो आवाज आएकाले उक्त वस्तु शक्तिशाली बम भएको पुष्टि भएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।
प्रहरीले बेलैमा सेनाको टोलीबाट डिस्पोज गराएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक केसीले बताए ।
बन्दका बेला यस्ता शंकास्पद वस्तु अन्यत्र पनि भेटिनसक्ने भएकाले त्यस्ता वस्तु नछुन र सुरक्षा निकायलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।
बन्दको असर देशभर
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् ।
सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए ।
बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका थिए ।
अदालत अगाडि शंकास्पद वस्तु फेला, बम भएको आशंका
रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । उक्त वस्तु बम भएको स्थानीयले आशंका गरेका छन् । तर यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
यात्रुलाई ओरालेर बसमा आगजनी
कैलालीको बडैपुरमा बसमा आगजनी गरिएको छ । आगजनीबाट बस जलेर पूर्णरूपमा क्षति भएको छ ।
बसमा कसले आगजनी गरेको हो भनेर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार राति चार बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरको जंगलमा पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसबाट यात्रुलाई ओरालेर आगजनी गरिएको छ ।
हालै सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्बसन्ध्यामा बसमा आगजनी गरिएको हो ।
यस्तै, भीमदत्त राजमार्ग अन्तरगत पर्ने कैलालीको गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै गाडी रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिम्सिनाले बताए ।
कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको एसपी तिम्सिनाले बताए पनि कैलालीमा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।
प्युठानमा बम
प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि बम भेटिएको छ । खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा उक्त बम भेटिएको हो । बम भेटिएपछि त्यहाँ सुरक्षाकर्मीलाई बोलाइएको छ।
गोरखाका दुई स्थानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
गोरखाका दुई स्थानमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
गोरखा नगरपालिका–६, भीआईपी टोल र वडा नम्बर १० को बाह्रकिलोमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने २ स्थानमा भेटिएका शंकास्पद वस्तु पोखराबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको जानकारी दिए ।
शंकास्पद वस्तु फेला परेसँगै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारेको छ ।
गैडाकोटमा राखिएको बम नक्कली
विप्लव नेतृत्वको नेकपाले बन्दका क्रममा नवलपुरको गैडाकोटको जयश्री पुलमा राखेको बम नक्कली भएको पाइएको छ ।
रातो प्लाष्टिकको ब्याग भित्र खतरा संकेत दिएर राखिएको शंकास्पद वस्तुलाई सेनाले विहीबार विहान डिस्फोज गरेको हो ।
प्लाष्टिकको झोला भित्र बाल्टिन राखि बाल्टिन भित्र जुटको बोरा र माटो राखिएको पाइएको हो । सेनाको टोलीले शंकास्पद वस्तु वम नभएको यकिन गरेपछि राति साढे १२ बजेदेखि अवरुद्ध जयश्री पुलमा यातायात सञ्चालनमा आएको छ ।
उक्त शंकास्पद वस्तु मध्यविन्दु नगरपालिका १४ झ्यालटुङ्ग डाँडा नेपाली सेनाको हवल्दार शिवबहादुर न्यौपानेको नेतृत्वमा गएको बम डिस्फोजल टोलीले निष्कृय बनाएको थियो ।
पश्चिम नवलपरासीमा दुई वटा ट्रकमा आगजनी
विप्लवको बन्दको राति पश्चिम नवलपरासीमा दुई वटा ट्रकमा आगजनी भएको छ । सरावल गाउँपालिका १ तुलसीपुर चोकमा रोकिराखेको दुई वटा ट्रकमा आगजनी भएको हो ।
राति १ बजेको सयममा ना ५ ख ७८४१ र ना ४ ख ६८२५ नम्बरको ट्रकमा अज्ञात समूहले आगो लगाउँदा दुबै ट्रकको पछिल्लो दुई चक्का जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुबै ट्रकमा लागेको आगो समयमै निभाएर ट्रकहरुलाई प्रर्ण क्षति हुनबाट जोगाइएको प्रहरीदले जनाएको छ ।
नवलपरासीमा बन्दको प्रभाव
विप्लव नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाई, आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा लगायतका मागहरु राख्दै गरेको बन्दको प्रभाव विहीबार नवलपरासीमा पनि परेको छ । विहान केही झिटफुट सवारी साधन चले पनि अहिले सडक सुनसाधन छ ।
विद्यालय, कलेज लगायतका शैक्षिक संस्थाहरु खुल्न सकेका छैनन् । त्यसैगरी बजार तथा पसलहरु प्नि छिटफुट मात्रमा मात्र खुलेको छ ।
बागलुङको जनजीवन प्रभावित, यातायात शैक्षिक संस्था ठप्प
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले बिहिबार बिहानैदेखि बागलुङको जनजीवन प्रभावित भएको छ ।
बागलुङमा शैक्षिक संस्था, यातायात, कलकारखाना, उद्योग धन्दा र बजार ठप्प रहेका छन् । लामो तथा छोटो दुरीका सवारी साधान नचल्दा जिल्ला भित्रने र जिल्ला बाहिर जाने यात्रु अलपत्र परेका छन् ।
साना सवारी साधान भने छिटफुट रूपमा सञ्चालनमा आएका छन् । सरकारले निरन्तर दमन गरेको, संकटकालको जस्तो व्यवहार गरेको, पार्टी नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।
दुर्गाबहादुर रोकालाई गोली प्रहार, पार्टी केन्द्रिय सदस्य बन्धु चन्द्र लगायत देशव्यापी रुपमा दजनौ नेता, कार्यकर्ता, र शुभचिन्तकलाई गिरप्तार गर्ने, झुटटा मुद्दा लगाउने यातना दिने सकटकाल झै विभिन्न गाउँमा अप्रेशन चलाएको विरोधमा बन्द आह्वन गरेको नेपाल कम्युनिष्ट पार्टी बागलुङका इन्चार्ज विकिरणले जारी गरेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
सरकारले विप्लव माओवादीलाई राजनीतिक प्रतिबन्ध लगाए पछि पहिलो पटक बन्द आह्वन गरेको हो । बागलुङमा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
विप्लबकाे बन्दकाे कारण यातायात बन्द, सुदूरपश्चिमको जनजीवन प्रभावित
पाल्पामा पनि बन्दको प्रभाव
मकवानपुरमा ट्रकमाथि आगजनी, शंकास्पद वस्तु निस्क्रिय
मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ ।
अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए ।
ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ । घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छ ।
यसैबीच, हेटौंडाको औद्योगिक क्षेत्रनजिक भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । शंकास्पद वस्तु भेटिएको सूचना पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले डेटोनेटरको सहायताले शंकास्पद वस्तु निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।
बन्दले प्रदेश ५ का १२ जिल्ला प्रभावित
सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव प्रदेश ५ का सबै जिल्लामा परेको छ ।
कर्णालीपछि प्रदेश ५ विप्लवको गतिविधि भएको क्षेत्र हो । विहीबार प्रदेश ५ का १२ वटै जिल्लाका लागि बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट कुनै सवारी साधन चलेका छैनन् ।
प्रदेश ५ का पहाडी जिल्लाहरुलाई अन्यको तुलनामा विप्लव समूहको बढी प्रभाव भएका क्षेत्रका रुपमा लिने गरिन्छ ।
विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा प्रदेशभरिको जनजीवन प्रभावित भएको छ ।