बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालसहित पाँचजनाविरुद्ध राजस्व छलीको मुद्दा दायर

राजस्व अनुसन्धान विभागले बालुवाटार जग्गा प्रकरणमा मुख्य अभियुक्त शोभाकान्त ढकालसहित पाँचजनाविरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ।
विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ बिगो असुल र सोही मात्रामा जरिवाना तथा तीन वर्षसम्म कैद सजायको मागसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र आनसान इन्टरनेसनलको लेखापरीक्षक तथा लेखापरीक्षण गर्ने फर्म राजेश्वर एन्ड कम्पनीका प्रोपराइटर राजेश्वर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो।
https://www.youtube.com/watch?v=oT-J8cfUMaM&list=UUdVEllX6-3RtSujuMJI-nBQ
उनीहरूविरुद्ध राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी कारोबार नै नभएको देखाई (कारोबार शून्य देखाई) प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरूबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको अभियोग लगाइएको छ।
विभागले ढकालसहित चारजनाविरुद्ध कुल बिगो एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ असुल र सोही मात्रामा जरिवाना तथा ३ वर्षसम्म कैद सजायको माग गरेको छ। त्यस्तै, राजस्व चुहावटमा सहयोग गरेकोले राजेश्वर एन्ड कम्पनीका प्रोपराइटर श्रेष्ठलाई मतियारमा आधा सजायको मागदाबी गरिएको छ।