चितवन प्रहरीको सफलता : एसपी सर्वोत्कृष्ट अनुसन्धानकर्ता, कार्यालय प्रदेशकै पहिलो




भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवन र यसका प्रमुख एसपी ओमप्रसाद अधिकारी बागमती प्रदेशमा सर्वोत्कृष्ट ठहरिएका छन् । त्यस्तै, इप्रका रत्ननगरका प्रमुख डिएसपी इन्द्रबहादुर राना पनि प्रदेशमै उत्कृष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन बागमती प्रदेशका उपत्यकाबाहेकका जिल्लामा सर्वोत्कृष्ट भएको छ । १० जिल्ला र ४ वटा अन्य क्षेत्र गरी १४ क्षेत्रमा जिल्लाले मंसिर महिनामा सर्वोत्कृष्ट सम्मान पाएको हो । बागमती प्रदेशअन्तर्गत रहेका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सूचकाङ्कको आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा २०७८ साल मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय चितवन पहिलो भएको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।




‘प्रथम स्थान हासिल गर्न तोकिएको जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्ने सबैको उत्तिकै भूमिका छ’, एसपी अधिकारीले भने, ‘काम गरेपछि पाइने सम्मानले थप हौसला मिलेको छ ।’ लगनशील भई त्रुटिरहित ढङ्गले परिणाममुखी कार्यसम्पादन आफूहरुको उद्देश्य रहेको बताउँदै उनले जिल्लामा हुने कुनै पनि आपराधिक कामको अनुसन्धानमा प्रहरी नचुकेको बताए । मंसिर महिनामा नेकपा एमालेको राष्ट्रिय महाधिवेशन चितवनमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो । त्यस्तै, प्रहरीले हङ्कङ लाने तयारीमा रहेको ठूलो मात्रामा च्यावनप्रासका बट्टामा राखिएको चरेस बरामद गरेको थियो । फरार अपराधी पक्राउमा सफलताले पनि आफूहरुलाई पहिलो हुन मद्दत पुगेको एसपी अधिकारीले बताए ।

प्रहरी प्रमुख ओम अधिकारी आफैँ भने प्रदेशकै अनुसन्धानमा सर्वोत्कृष्ट ठहरिएका छन् । नेपाल प्रहरीले उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताका रुपमा पुरस्कृत गरेको थियो । अनुसन्धानमा एसपी अधिकारी नेपाल प्रहरी सगठनभित्र अब्बल मानिन्छन् । सेनाका हुद्दा भरत गुरूङ हत्या, सुजता भण्डारी मृत्यु प्रकरणजस्ता घटनामा सफलता मिलेको थियो । उनकै नेतृत्वमा जिल्लामा चोरीका मोटरसाइकल बरामद र २० जना बढी आरोपितलाई मुद्दा चलाइएको छ । त्यसैकारण मोटरसाइकल चोरी हाल ठप्प छ ।

‘जिल्लामा भएका साना–ठूला जुनसुकै प्रकृतिका आपराधिक घटनामा सफल अनुसन्धान गर्न म र मेरो टिम सफल भएको छ’, यसले जनतालाई प्रत्यक्षरुपमा शान्ति सुव्यवस्थाको महसुस भएको छ’, एसपी अधिकारीले भने । बागमती प्रदेशअन्तर्गत प्रहरी कार्यालयहरुमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुले सम्पादन गरेका कार्यहरुको मूल्याङ्कन आधारमा मंसिर महिनामै इलाका प्रहरी कार्यालय, रत्ननगरका डिएसपी इन्द्रबहादुर राना सर्वोत्कृष्ट प्रहरी घोषित भएका थिए ।



सम्बन्धित
Loading...