नेकपा एमाले नवलपुरको अधिवेशन कावासोतीमा सर्वसम्मत नेतृत्व चयन गर्ने दावी

नवलपुर । नेकपा एमाले नवलपुरको आठौं जिल्ला अधिवेशन शुक्रबार कावासोतीमा हुने भएको छ ।
अधिवेशनले ५ पदाधिकारी सहित १ सय ५ सदस्यीय नयाँ जिल्ला कमिटि गठन गर्ने छ । विहीबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अधिवेशनका लागि जिल्लाभरीबाट ६ सय ५० को हाराहारीमा प्रतिनिधि चयन भएका छन् ।
अधिवेशनको तयारी पुरा भएको नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाले बताए ।
मञ्च व्यवस्थापनदेखि सम्पूर्ण तयारी पुरा भएको उनले बताए । अधिवेशनका लागि नेकपा एमाले नवलपुरका प्रतिनिधि एवम् नेता कार्यकर्ताहरुको कावासोतीमा जमझट शुरु भईसकेको छ ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ सहसचिव चयन गर्ने छन् । अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने नेकपा एमाले नवलपुरका सचिव जीवन श्रेष्ठले बताए । तथापि अध्यक्षमा अध्यक्ष रोशनबहादुर गाहा र सचिव जीवन श्रेष्ठले आकांक्षा देखाएका छन् तथापि दुवैले खुलेर मत माग्ने र अध्यक्षको उम्देवार भनेर प्रचारबाजी गरेका छैनन् ।
स्रोतका अनुसार केन्द्रिय सदस्य तिलक महत रोहनबहादुर गाहालाई अध्यक्ष बनाउने पक्षमा छन् भने अर्का केन्द्रिय सदस्य कृष्ण पौडेल जीवन श्रेष्ठलाई जिल्ला अध्यक्ष बनाउने पक्षमा छन् ।
त्यसैगरी सचिवमा पनि भिमलाल कंडेल, भीमलाल अधिकारी लगायतकाले आकांक्षा देखाएका छन् ।
अधिवेशन शुक्रबार र शनिबार गरी २ दिन सम्म चल्ने छ भने समिति चयनमा बहस लम्बिए आइतबारसम्म अधिवेशन जान सक्ने सम्भावना रहेको छ ।


