ठेकेदारको यातनाले भारतको चिस्यान केन्द्रमा तीनजना नेपालीको मृत्यु

ठेकेदारले अखाद्य पदार्थ खुवाएर २२ घन्टासम्म काममा लगाउँदा भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा ज्यान गुमाएका सर्लाहीका तीन युवाका परिवारको जाहेरी ७६ दिनपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।
आइतबार नै जिल्ला सरकारी वकिलको कार्यालयले पीडितको जाहेरी दर्ता गरेर प्रहरीमा पठाएको थियो । पीडितले पटक–पटक धाउँदा पनि जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद प्रसाईंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि कानुनअनुसार नै सरकारी वकिलको कार्यालयमार्फत दर्ताको वैकल्पिक बाटो अपनाएका हुन् ।
चन्द्रनगर गाउँपालिका– ६ का ठेकेदार इन्द्रजित राउत नेतृत्वको समूहले ऋणमा फसाएर चिस्यान केन्द्र पुर्याएका स्थानीय कामत गाउँका नन्दलाल माझी र जगदीश माझी तथा छिमेकी गाउँ ईश्वरपुर नगरपालिका– ३ भक्तिपुरका सुमन भुजेलको गत ८ कात्तिकमा मृत्यु भएको थियो । नन्दलालका बुबा गनौर माझी, जगदीशका बुबा महिन्द्र माझी र सुमनकी आमा निरु भुजेलले ठेकेदार इन्द्रजित, उनका छोरा सुनील र भाइ इन्दलविरुद्ध किटानी जाहेरी दिएका छन् । ‘ठेकेदारले खानेकुरामा विषाक्त पदार्थ राखेर खुवाउँदा मृत्यु भएको’ जाहेरीमा उल्लेख छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले सोमबार मुद्दा दर्ता भएको बताए । घटना भारतमा भएकाले अनुसन्धानको कानुनी प्रावधानबारे बुझ्ने क्रममै रहेको उनको भनाइ छ । ‘मुद्दा दर्ता भएको छ । घटना भारतमा भएकाले उताको पुलिससँग समन्वय गर्नुपर्ने हुन्छ ।
अनुसन्धानको कानुनी प्रावधानबारे बुझ्दै छौँ,’ उनले भने, ‘त्यहाँको पुलिससँग केही डकुमेन्ट छ भने झिकाउनुपर्छ ।’
उनले पीडितले किटानी जाहेरी गरे पनि अदालतको आदेशविना आरोपीलाई पक्राउ गर्न नमिल्ने बताए । ‘अदालतले पक्राउ पुर्जी जारी गर्यो भने मात्रै प्रहरीले पक्राउ गर्न सक्छ, नत्र मिल्दैन,’ उनले भने, ‘दोषी हो–होइन अदालतले फैसला गर्ने विषय हो । हामी त अनुसन्धान गरेको डकुमेन्ट लिएर अदालत जाने हो ।’
तीन मृतकसँगै बिरामी अवस्थामा घर फर्काइएका सातजना र अझै चिस्यान केन्द्रमै बन्धक बनाइएका २२ जना युवाका परिवारले पनि न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा यसअघि नै निवेदन बुझाएका थिए ।
बिरामीका परिवारले क्षतिपूर्ति र बन्धक भएकाहरूका परिवारले उनीहरूको उद्धारको माग गरेका छन् । तर, उनीहरूको निवेदन जिल्ला प्रशासनमै अलपत्र छ ।