नवलपुरमा १२ बर्षदेखि १८ बर्ष मुनिका विद्यार्थीलाई दोस्रो मात्रा खोप लगाउन शुरु

नवलपुर । पूर्वी नवलपरासीमा आइतबारबाट १२ बर्षदेखि १८ बर्ष मुनिका विद्यार्थी बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दोस्रो मात्रा लगाउन शुरु गरिएको छ ।
१२ बर्षदेखि १८ बर्षसम्मका उमेर समूहका २ सय बढी विद्यार्थी रहेको विद्यालयमा सोही विद्यालयमै खोप केन्द्र बनाएर र २ सय भन्दा कम विद्यार्थी भएको विद्यालयहरुको हकमा नजिकको विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउन शुरु गरिएको हो ।
नवलपुरमा १२ बर्षदेखि १८ बर्ष उमेर समूहका ४० हजारको हाराहारीमा बालबालिका रहेको अनुमान गरिएको छ । त्यसका अलवा नवलपुर घर भई चितवनमा पढ्ने बालबालिकाहरु भने यस खोप अभियानमा छुटेको बताइएको छ ।
पहिलो मात्रा खोप ३९ हजार पाँच सय बालबालिकालाई खोप लगाउने अनुमान गरिएकोमा ४० हजार बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जनाए ।
सोमबारदेखि लगाउन बालबालिकालाई दोस्रो मात्राको खोप लगाउन थालिएको र केही दिनमा ४० हजार बालबालिकालाई नै दोस्रो मात्रा लगाइ सकिने उनले बताए ।
त्यसैगरी १८ बर्ष माथिका कोभिसिल्ड र भेरोसिल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकीलाई पनि दोस्रो मात्रा खोप लगाउन शुरु भएको चापागाईले बताए ।
हालसम्म कुनै पनि खोप नलगाएका १८ बर्ष माथिका र १२ बर्षदेखि १८ बर्ष उमेर समूहकालाई पनि पहिलो मात्रा खोप दिइएको र त्यसका लागि नजिकको स्वास्थ्य चौकीमा गएर खोप लगाउन सकिने चापागाईले बताए ।