कवाडीको नाममा जडिबुटी तस्कर, नवलपरासीबाट बरामद

कारोबारमा संलग्न पक्राउ परेनन्




हरि शर्मा –
परासी, ४ माघ – नवलपरासी पश्चिमबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरिएको छ ।

भारतको सीमावर्ती क्षेत्र सरावल गाउँपालिका–७ स्थित भूजहवाको एक कवाड संकलन केन्द्रबाट सुनाखरी र झ्याउ नामका बहुमुल्य जडीबुटी बरामद गरिएको डिभिजन वन कार्यालय परासीका निमित्त डिभिजनल वन अधिकृत डिलाराम पौडेलले जानकारी दिए ।




बरामद भएका जडीबुटीमा ५१ क्विन्टल सुनाखरी र २१ क्विन्टल झ्याउ रहेको छ । प्रहरीले जडीबुटी लुकाएको जानकारी पाएपछि वन कार्यालयलाई खबर गरेको थियो ।

नेपालमा उक्त जडीबुटी बिक्री वितरण, ओसारपसार र संकलनमा रोक लगाइएको छ । प्रतिबन्ध भएका कारण नेपालमा त्यसको बजार मूल्य कायम गरिएको छैन ।

अन्तराष्ट्रिय बजारमा महंगोमा बिक्री हुने भएकाले भारतततर्फ चोरी गर्ने उद्देश्यले उक्त जडीबुटी त्यहाँ लुकाएर राखिएको वन कर्मचारीहरुले बताएका छन् ।

भारत पु¥याउँदा उक्त जडीबुटी करडौंमा बिक्री हुने अनुमान वन कर्मचारीले गरेका छन् । अवैध रुपमा फेला परेका जडीबुटी वन नियमावलीअनुसार सुनाखरीको प्रतिकेजी २ सय र झ्याउको २५ रुपैयाँ राजश्व लिएर प्रकृया अगाडी बढाउने उल्लेख रहेको वन कार्यालयले जनाएको छ ।

कवाड सामान मुनी बोरामा लुकाएको अवस्थामा जडीबुटी बरामद भएको हो । जडीबुटी बरामद भएपनि कारोबारमा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

जडीबुटी बरामद भएको कवाड संकलन स्थल प्रतापपुर गाउँपालिका–८ का शोभा दमाईको ‘साई ट्रेडर्स कवाड’ नाउँको फर्ममा रहेको छ । संकलन केन्द्रमा भारतको महाराजगञ्ज जिल्ला ठूठीबारी बस्ने राजु पासवानले सामान संकलन गर्ने गरेको प्रहरी उपरीक्ष मनोज कुमार यादवले जानकारी दिए ।

बरामद जडीबुटी धेरै प्रजातिको हुने भएकाले छुट्टाउनका लागि राष्ट्रिय हर्वेनियम तथा वनस्पति प्रयोगशालामा पठाइन लागिएको वन कार्यालयले जनाएको छ । यसअघि पनि सीमावर्ती नाकाबाट झार जस्तो देखिने ठूलो परिमाणका बोराहरु साइकल र टेक्टरमा लोड गरेर लैजाने गरेको स्थानीयले बताएका छन् । संकलन केन्द्र शसस्त्र प्रहरी पोष्ट अगाडी छ ।

दुवै जातीका जडीबुटी पहाडी र उच्च पहाडी क्षेत्रमा पाइने गरेको छ । यी जडीबुटी ठूलो रुखामा नभई बुट्यानमा हुने गरेको छ । पौष्टिक तत्व, आयुर्वेद्धिकलगायत ठूला रोगहरुको उपचारका लागि बनाइने औषधिहरुमा यसको प्रयोग हुने गरेको बताइएको छ ।



सम्बन्धित
Loading...