छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु





लुम्बिनी प्रदेशका दुई जिल्ला छिमेकी प्रदेशको एक  जिल्लाको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको  छ  ।

बाँकेको  कोहलपुर नगरपालिका–२ एनसिसिएन चोकस्थित सडकमा भे१ च २८१५ नम्बरको बलेरो जिप र भे १० प ४६८ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया बढैयाताल नगरपालिका–३ बस्ने २० वर्षीय राजन कुमार थारुको मृत्यु भएको छ ।


दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय  किशोर थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रुपन्देहीको  सैनामैना नगरपालिका–४ लुम्बिनीस्थित सडकमा लु ९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट  सोही ठाउँ बस्ने २३ वर्षीया लक्ष्मी श्रीस मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

आफूले सामान किन्दै गरेको ठेलालाई लु ८ प ४१७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आत्तिएर बाटो काट्ने क्रममा लु ९ प ३०३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको   थियो  । दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ  ।

यसैबीच गुल्मीको छिमेकी गाउँ स्याङ्जाको कालिगण्डकी गाउँपालिका–२ कोटाकोट सेरास्थित सडकमा लु ३ त ३७०२ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका चालक सोही ठाउँ बस्ने १८ वर्षीय गोविन्द पाण्डेको मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो  प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...