नेपाली भूमि डुब्ने गरी पश्चिम नवलपरासीको सिमा नाकामा भारतले बनायो सडक, नेपाली पक्षद्वारा विरोध

गोपी ज्ञवाली –
नवलपरासी । पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा नेपाली भुमि डुबान हुने गरी भारतले सिमा क्षेत्रमा बनाउदै गरेको सडकको नेपाली पक्षद्वारा अनुगमन गरी विरोध जनाएको छ ।
अन्तराष्ट्रिय मान्यता विपरित नेपाली भुमि एवं बस्तीहरु ढुबान हुने गरी भारतले सिमाना दशजगा नजिकै बनाईरहेको सडक र त्यसको प्रभावको विषयमा बुझ्नका लागि नवलपरासीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका अधिकारीहरुले निरीक्षण गरेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले बताए ।
नेपालको चुरे पहाडहरुबाट दक्षिण भारततर्फ बगने नदीनालाहरुको बहाव रोकिने गरी भारतले दशगजादेखि करिब १० मिटरको दुरीमा पश्चिम देखी पुर्व तर्फ चार लेनको सडक निर्माण गरिरहेको छ ।
भारतले यसरी बनाई रहेको सडक पश्चिम भारतको सिद्धार्थनगर (कपिल्बस्तु पारी), महाराजगञ्ज हुदै अहिले नवलपरासीको दक्षिणपारी तर्फ पुर्याएको छ । अन्तर्राष्ट्रिय मापदण्ड विपरित बनाउदै गरेको यो सडकले नेपालतर्फ नवलपरासीका दर्जनौ गाउँबस्ती सहित सयौं विगाहा खेती योग्य जमिन डुबानमा पर्ने छन् ।
यो सडक निर्माणले नेपाललाई ठुलो क्षति हुने भन्दै नेकपा एमाले नवलपरासीले गत विहिवार नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाए पछि यो विषय सतहमा आएको थियो ।
यसै क्रमम सोमवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरु सहितको टोलीले संयुक्त रुपमा यस सडकको निरिक्षण गरेको छ ।

नेपाली भुभि डुबान हुने गरि बनाउदै गरेको सडकको निर्माण र यसले नवलपरासीलाई पर्ने असरप्रति नेपालको आपत्ति रहेको कुरा भारतको महाराजगंजका प्रमुख जिल्ला अधिकारी (डिएम) सत्यन्द्र कुमारलाई बताईएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
यस क्रममा महाराजगंजका सहायक प्रमुख जिल्ला अधिकारी (एसडिएम) सत्यप्रकाश मिश्रा, सडक निर्माण गरिरहेको संस्था पीडब्लुडिका प्रमुख लगायतसंग कुराकानी भएको बताएको मिश्रले जानकारी दिए ।
नेपालका दर्जनौै गाउँहरु डुबानमा पर्ने गरि बनाईएको यो सडकको ऊचाई एउटा बाँधको जस्तै करिब ६ फिटको उचाई रहेको छ ।
उत्तरबाट वगने खोला, नाला झरन लगायतको पानी बगने गरी आवश्यक स्थानहरुमा बल्वर्ट, साईफन नराखी बनाईएको यो सडकका कारण नवलपरासीको पाल्हीनन्दन, सरावल एवं सुस्ता गरि तीन गाउँपालिकाका करिब दुई दर्जन गाउँ बस्ती एवं हजारौ विगाहा खेत डुबानमा पर्ने छन् ।