चितवन मेडिकल कलेजको ज्यादति, पैसा तिर्न नसकेका विरामी चेपाङ्ग आइसियूमै बन्धक




चितवन १२ माघ । आइसियू खर्च नदिएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)ले वार्डमा सार्नुपर्ने बिरामीलाई पनि आइसियूमै राखेर खर्च बढाइरहेको बिरामीका आफन्तले आरोप लगाएका छन्।

आर्थिक अवस्था कमजोर रहेका इच्छाकामना गाउँपालिका वडा नं. १ सप्रेनीका ५६ वर्षीय नरबहादुर चेपाङलाई तीन दिनअघि नै वार्डमा सार्नुपर्ने भए पनि आइसियूममा राखेको पैसा नदिएको भन्दै आइसियूमै थुनेर राखेको बिरामीका आफन्त डिल्ली चेपाङले बताए।




गत पुस २८ गते भीरबाट लडेपछि नरबहादुरलाई सोही राति भरतपुर अस्पताल ल्याइएको थियो। भरतपुर अस्पतालले भर्ना नलिँदै चितवन मेडिकल कलेज पठाएपछि बिरामीलाई सोही राति चितवन मेडिकल कलेजले भर्ना लिएर उपचार थालेको थियो।

‘अस्पतालले आइसियूको पैसा तिरेर वार्डमा सार्नू भनेको तीन दिन भइसक्यो, तर, हामीसँग अहिले पैसा छैन, सार्दिनु डिस्चार्ज हुने बेला व्यवस्था गर्छौँ भन्दा पनि मानेन,’ उनले भने, ‘अहिले दिनानुदिन आइसियूको चर्को शुल्क खेप्न बाध्य भएका छौँ।’

उनका अनुसार पूरै पैसा बुझाएमा बिरामीलाई घरै लैजान पनि अस्पतालले सुझाएको छ। तर, वार्डमा सारे खर्च कम आउँथ्यो भनेर सार्न आग्रह गर्दा पनि आइसियूको शुल्क नबुझाएसम्म बाहिर लैजान नमिल्ने भन्दै बन्धक बनाएको उनले बताए। ‘अहिले बिरामीको अवस्था सामान्य छ, त्यसै त खर्च जुटाउन नसकिरहेको बेलामा आइसियूमै राखेर दैनिक हज्जारौँ रूपैयाँ भार थपिदिएको छ,’ उनले भने।

उनका अनुसार आइसियूमा राखेको खर्चमात्रै बुधबारसम्ममा एक लाख ८५ हजार उठिसकेको छ। त्यसबाहेक उपचार खर्च र औषधिको खर्च जोड्न बाँकी रहेको उनले बताए।

त्यति ठूलो रकम तिर्ने हैसियत नभएको गरिब चेपाङलाई झन् आइसियूमै थुनेर थप ऋणको भार बोकाएको उनको भनाइ छ।

गाउँपालिकाले उपचार खर्च बेहोर्ने

चितवन मेडिकल कलेजको आइसियूमा उपचाररत इच्छाकामना १ सप्रेनीका नरबहादुर चेपाङको उपचारको जिम्मा गाउँपालिकाले लिने भएको छ ।

चेपाङको उपचारमा भएको आर्थिक समस्याबारे बिरामीका आफन्तले गुनासो गरेपछि समाचार प्रकाशन भएको थियो।

अस्पतालले चेपाङलाई बन्धक बनाएको नभई उपचार खर्च तिर्न नसकेको बताउँदै नरबहादुर चेपाङको उपचार गाउँपालिकाले गरिदिने गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले बताएका हुन्।

‘म अहिले पनि चितवन मेडिकल कलेजमै छु, अस्पतालले बन्धक बनाएको होइन, बिरामीले पैसा बुझाउन नसकेपछि बाहिर निस्कन नपाएको हो,’  श्रेष्ठले भने, ‘मेरो गाउँपालिकाको नागरिक भएको हुँदा उपचारको जिम्मा मैले लिन्छु।’

– इ–चितवन पोष्ट डटकमबाट 



सम्बन्धित
Loading...