बाख्रा फार्म अवलोकन गर्न कतारका राजदूत नवलपरासीमा




पूर्वी नवलपरासी — नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैलले शुक्रबार पूर्वी नवलपरासीस्थित दुई वटा निजी बाख्रा फार्म अवलोकन गरेका छन् ।

शुक्रबार दिउँसो कावासोती नगरपालिका वडा नम्बर १७ बभनौली आएका राजदूत यूसुफ बिनले आदित्य कृषि फार्म र सर्फाज एग्रो फार्म अवलोकन गरेका हुन् ।




राजदूतले कतारमा केही वर्ष काम गरेर फर्किएका नवलपरासीका किरण काफ्लेले सुरु गरेको बाख्रा फार्म सुरुमा अवलोकन गरेका थिए। यहाँ काफ्लेले बयर र खरी जातका बाख्रा पालन गरेका छन् ।

काफ्लेले ४ वर्षदेखि यहाँ बाख्रा पालन गर्दैआएका छन् । अवलोकन भ्रमणको क्रममा राजदूतले बाख्रा फार्मप्रति चासो राख्दै संचालक किरणसँग सोधेका थिए, ‘कतारमा र यहाँ के फरक पायौ ?, कस्तो छ प्रगति ?’

राजदूतले नजिकै रहेको नेपालकै ठूलो मानिने सर्फाज एग्रो फार्म पनि अवलोकन गरेका थिए । त्यहाँ उन्नत जातका करिब ४ सय बाख्रा पालन गरिएको छ ।

राजदूतको बाख्रा फार्म अवलोकनलाई निजी भ्रमण भनिएको छ । यद्यपि उनी शुक्रबार अचानक कार्यालयको सवारी साधनबाटै नवलपरासी आइपुगेका हुन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार उनले दूतावासकै ‘झण्डावाल गाडी’ प्रयोग गरेर बाख्रा फार्मसम्म पुगेका थिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दीलिप गिरीका अनुसार राजदूतले दुई वटा बाख्रा फर्म अवलोकन गरेर काठमाडौं फर्किएका छन् ।

उनी निजी भ्रमणको रुपमा काठमाडौंबाटै बाख्रा फार्म अवलोकन गर्नका लागि नवलपरासीसम्म आइपुगेको बताइएको छ ।



सम्बन्धित
Loading...