व्यवसायिक बंगु्रपालनमा रमाउदैं बर्दघाटका किसानहरु

रवि पाण्डेय-
नवलपरासी पश्चिम नवलपरासीको बर्दघाटका कृषक प्रकाश कुमार विश्वकर्मा (कुमार) को फर्ममा २ सय बढी बंगुर छन्। सुनचाँदी ब्यवसायमा ब्यस्त उहाँ बंगुरको बजार राम्रो देखेर नै उत्पादनमा लागेको बताए।
सप्तरंगी कृषि तथा पशुपालन प्रालि बर्दघाट ५ पाल्डाडाका सञ्चालक कुमारले भने– पाठापाठी देखि मासु सम्म सहज बिक्री गर्न सकिन्छ, बजार राम्रै छ। अहिले नश्ल सुधार गरिएका पाठापाठीको हाराकार नै छ। बजार देखेर नै म यो ब्यवसायमा लागेको हो। यसैमा भविष्य देखेको छु।
बर्दघाट नगर क्षेत्रमा निर्वाह मुखी बंगुरपालनमा गर्दै आएका यहाँका किसान अचेल ब्यवसायिक बन्दै गएका छन् ।
बंगुरका पाठापाठीबाट बिक्रीबाट छिटो आम्दानी हुने भएकोले उनीहरु बंगुरपालनमा लालायित भएका हुन । बिक्री नभएका पाठापाठी हुर्काएपछि मासुका लागि समेत बिक्री गर्न सकिने भएकोले यस ब्यवसायमा लागेको कृषकहरु बताउँछन् ।
बर्दघाट नगरक्षेत्रमा हाल ५ वटा माउ देखि २ सय बढी बंगुर पाल्ने सम्मका ३० वटा ब्यवसायिक फर्म छन् ।
स्थानीय बजार देखि देशका ठुला शहरहरुमा बंगुरको मासुको बजार रहेको हुदाँ बंगुरपालनमा आर्कषित भएको कृषक प्रकाश कुमार विश्वकर्मा (कुमार) को भनाई छ ।
यस बर्ष २ सय बढी पाठापाठी बेच्ने बिश्वकर्माको लक्ष्य छ । पाठापाठी बिक्री गर्न नसके मासुको योजना समेत बनाएका छौ – विश्वकर्माले भने – आफ्नै दाना उद्योग संचालन हुदैछ । दाना उद्योग संचालन पछि बंगुरको उत्पादन लागत अझ कम हुनेछ ।
करिब १ करोड लागतमा दाना उद्योग संचालनको अन्तिम तयारीमा छ । बंगुरपालनदेखि दाना उद्योग संचालनसम्म ३ करोड रुपैया बढी खर्च भइसकेको विश्वकर्माले जानकारी दिए। फर्ममा हाल ६ जना कामदारले रोजगार पाउदै आएका छन् ।

बर्दघाट–१६ का कृषक गिरबहादुर गुरुंङको अनुभव भने विश्वकर्माको भन्दा फरक छ । गुरुङ कहाँ अहिले १५ वटा माउ सहित ४५ बंगुर छन्। गतबर्ष सय बढी पाठापाठी बेचेको बताउदै गुरुङले यसबर्ष पाठापाठी बिक्री हुन नसकेको बताए।
गुरुंङले भने – मासुको खुद्रा मुल्य ४ सय रुपैया छ। हामीले थोकमा ३ सय ३० रुपैया मात्र पाउछौ। बंगुरका पाठापाठी उत्पादन भए पनि बजारमा बिक्री गर्न कठिनाई रहेको गुरुङको गुनासो छ।
बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले चालुबर्ष बंगुरपालक कृषकलाई ध्यान दिएर यान्त्रीकरण एंव मासु मिसन कार्यक्रम संचालनमा रहेको जानकारी दिए।
नगर क्षेत्रमा ३० वटा ब्यवसायिक बंगुरपालक फर्म संचालित रहेको बर्दघाट नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास शाखाका प्रमुख भरत लम्सालले बताए। लम्सालले कृषकहरुबाट पाठापाठी समयमै बिक्री गर्न नसकेको गुनासो आएको बताए । डेढ महिनामा पाठापाठी बिक्री गर्नुपर्ने हुन्छ – उनले भने – बिक्री नभएको कुरा आएको छ ।
उत्पादित मासु र माउ बिक्रीमा भने समस्या नदेखिएको लम्सालको भनाई छ। नगरक्षेत्रमा ३ हजार बढी बंगुर छन्। साप्ताहिक बजार र गाउँघरमा मासु बिक्री गर्ने चलन छ। – लम्सालले भने – आधिकारिक बंगुरको मासु बेच्ने थलो छैन। कृषकहरुको एकीकृत संजालमार्फत बजारीकरण गर्ने योजना रहेको उनले जानकारी दिए।
उत्पादित बस्तुको बजार ब्यवस्थापन गर्नु राज्यको दायित्व हो। यसमा तीनै तहका सरकारबाट बजारीकरणमा सहयोग गर्नपर्ने कृषकहरु बताउछन्।
