जबर्जस्ती करणीले १३ वर्षीया बालिकाले जन्माइन् छोरी, आरोपी पक्राउ

एक बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय मनिराम चौधरी पक्राउ परेका छन् ।
छिमेकी १३ वर्षीया बालिकालाई डरत्रास देखाई बलात्कार गरी गर्भवती बनाएको र बालिकाले बच्चा जन्माएपछि घटना बाहिर आएको हो ।
जबर्जस्ती करणीपीडित १३ वर्षीय बालिकाले बच्चा (छोरी) जन्माएपछि घटनाको खुलासा भएको हो । २०७८ वैशाख २७ गते बालिकालाई आफ्नो घरमा एक्लै भएको अवस्थामा डर त्रास देखाई घरभित्रै जबर्जस्ती करणी गरेको पीडित बालिकाले बताएकी छिन् ।
घटनाको बारेमा कतै भनेमा मारेर फालिदिने पटक–पटक धम्की दिएपछि बालिकाले घरपरिवारमा समेत नभनेको बालिकाले बताइन् ।
पीडित बालिकाले गत आइतबार (माघ १६ गते) स्थानीय नेउलापुर स्वास्थ्यचौकीमा बच्चा (छोरी)लाई जन्म दिएकी छिन् ।
बालिकाको पेट एक्कासी दुखेपछि स्थानीय क्लिनिकमा उपचारका लागि भिडियो एक्सरे गर्ने क्रममा बालिकाको पेटमा गर्भ रहेको पत्ता लागेको र सोही दिन नै बच्चा जन्मिएको पीडित बालिकाका आफन्तले बताएका छन् ।
पीडित बालिकाले बच्चा जन्माएको खबर प्राप्त हुनासाथ पीडक थारूलाई पक्राउ गरेको छ । प्रहरीले थारूलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । बालिकालाई अहिले सेफ हाउसमा राखिएको छ ।
विभिन्न सामाजिक संघ–संस्थासंग जोडिएका पीडक थारू ठाकुरबाबा नगरपालिका ६ नेकपा (माओवादी)केन्द्रका वडासचिव थिए । उनी ठाकुरबाबा बहुउद्देश्यीय सहकारीसंस्था बकुवा सेवा केन्द्रका प्रमुखसमेत रहेका छन् ।