विस्फोटक पदार्थले गाइवस्तु र गाेठालाई खतरा




राम अवतार चाैधरी –
कपिलवस्तु, 

कपिलवस्तुकाे वन क्षेत्रमा पछिल्लो समय हातहतियार र विस्फोटक पदार्थका घटना बढ्दै गएको छ । वन क्षेत्रमा हात हतियार र विस्फोटक पदार्थ लैजान तथा प्रयोग गर्न निषेध गरिएको भनिएपनि चोरी सिकारीको लागि यस्ता सामग्रीहरूको प्रयोग बढ्दै गएको देखिन्छ ।




खास गरी जङ्गली जनावरको सिकार गर्ने उद्देश्यले राखिएका विस्फोटक पदार्थबाट घरेलु जनावरहरू पर्ने क्रम बढिरहेको साथै गाई वस्तु चराउन जाने गोठालाहरू समेत घटना पर्न सक्ने जोखिम बढेको अगुवाहरुकाे भनाइ छ ।

जिल्लाको शिवराज नगरपालिका-३ खरेन्द्रपुर गाउँकाे उत्तरतर्फ बिहान शंकास्पद विस्फोटक पदार्थ विस्फोट हुँदा चर्दै गरेको भैँसी घाइते भएको छ । एक स्थानीयकाे अनुसार भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको बताउँदै भैँसी चराउन गएका एक बालक भने विस्फोटक पदार्थ पड्किँदा भागेर बाच्न सफल भएकाे बताइएको छ ।

जङ्गली जनावरको सिकारका लागि राखिएको विस्फोटक पदार्थ भैँसीले चपाउँदा विस्फोट भएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए ।

प्रहरीका निरीक्षक आचार्यका अनुसार घटनाको थप अनुसन्धान र विस्फोटक पदार्थ राख्ने गृरोहको खोजी कार्य जारी राखेको जनाइएको छ । वनमा हुने जङ्गली जनावरको सिकार तस्करी रोक्न वन कार्यालयले वन रक्षकलाई खटाई यस्ता पराधिक क्रियाकलापमा संलग्न हुनेहरुलाई कारवाही गरी निरुत्साहित गर्नुपर्ने स्थानीय हर्जु थारुले बताए ।

चोरी सिकारीका लागि राखिने यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुन सक्ने भएकाले वन कार्यालय र प्रहरी प्रशासनले वन क्षेत्रमा निगरानी बढाउनु पर्ने स्थानीय थारुकाे भनाई छ । विगत केही बर्ष पहिले भितरिया जंगलमा यस्तै विस्फोटक पदार्थले एउटा गाई र एउटा भैंसीकाे समेत ज्यान गएकाे उनले बताए ।

कपिलवस्तु साझेदारी वन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले जङ्गल क्षेत्रमा विस्फोटक पदार्थ राखिएको विषयमा छानबिन गर्न वन रक्षक टोली खटाइएको जनाए । वन क्षेत्रमा बढ्दै गएको चोरी निकासी र सिकारीलाई मध्यनजर गर्दै नियन्त्रण गर्न कर्मचारीहरु सक्रिय रहेको जनाउँदै वन्यजन्तुको चोरी सिकारी गर्न जाे काेहिलाई वन ऐन अन्तर्गत कार्वाही गरिने समेत अध्यक्ष तिवारीले जानकारी दिए ।



सम्बन्धित
Loading...