बस दुर्घटना हुँदा ३५ जना घाइते, ट्रयाक्टर भिरबाट खस्दा एक जनाको निधन




बर्दियाको बाँसगढी नगरपालिका-३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ ।




दुर्घटनामा घाइतेमध्ये कालीकोटको त्रिवेणी गाउँपालिका-६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका-७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।

दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । सामान्य घाइते भएका अन्यलाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ ।

बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

त्यसैगरी लमजुङको राइनास नगरपालिका वडा नं ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार नगरपालिका वडा नं ५ तीनपिप्लेबाट वडा नं ६ धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

त्यस्तै राइनासकै सोही ट्रयाक्टर चालक १९ वर्षीय दिपक परियार र ट्याक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु राइनासकै स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् घर फिर्ता भएका छन् ।



सम्बन्धित
Loading...