चट्याङ लागेर महिलाको मृत्यु, बर्षा र हिमपातले त्रिभुवन राजपथ, कर्णाली र दशरथचन्द राजमार्ग अवरूद्ध
सुर्खेतको भेरीगंगा नगरपालिका ११ साँदीखोलामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार चट्याङ लागेर ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हिमपातले दशरथचन्द राजमार्ग अवरूद्ध

बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत देहिमाण्डौ क्षेत्रमा सडकमा हिउँ जमेको छ । हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन् ।
स्रोतका अनुसार हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले हिउँ हटाउने काम गरेका छन् । यस्तै जुम्लामा भारी हिमपात भएको छ । जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले गर्दा चल्न सकेका छैनन् ।
हिमपातले रुकुम-बागलुङ हुँदै पोखरा जोड्ने लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठका अनुसार भारी हिमपातपछि बिहीबारदेखि लोकमार्ग अबरुद्ध भएको हो ।
त्रिभुवन राजपथमा यातायात अवरुद्ध
गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताए ।
हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताए । अहिले हेटौँडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
वर्षा र हिमपातका कारण कर्णाली राजमार्ग र जुम्ला–मुगु सडक अवरुद्ध
बिहीबारदेखि लगातार वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको कालिकोट खण्ड अन्तर्गत खडाचक्र नगरपालिमा–२ हुम्लामा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आउँदा राजमार्ग अवरुद्ध बनेको हो।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र सिंह खड्काका अनुसार पहिरो गएराति १० बजेतिर आएको हो। उनका अनुसार राजमार्ग खुलाउनका लागि उक्त स्थानमा प्रहरी टोली खटाइएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा कठिनाई भईरहेको छ ।
यस्तै हिमपातका कारण मुगु छायाँनाथ रारा नगरपालिका वडा–६ र ७ मा पर्ने जुम्ला–मुगु सडक खण्ड अवरुद्ध बनेको छ । नगरपालिकाको पिना सातमोड एरियामा २ फिट हिउँ परी बाटो अवरोध भएको प्रहरीको भनाई छ। बाटो खलाउनका लागि चारजना प्रहरीको टोली खटाइएको छ ।