विद्युत् पोलले महेन्द्र राजमार्ग विस्तारमा अवरोध

नारायण शर्मा – महेन्द्रराजमार्ग अन्तरगत दाउन्ने गैंडाकोट खण्डको भेडाबारीदेखि पश्चिम झरहीखोला क्षेत्रको १५ किलोमिटरभन्दा लामो क्षेत्रमा एकैतर्फ रहेको ११ केभिए र ३३ केभिए प्रसारण लाइन हटाउन समस्या भएको छ ।
त्यस क्षेत्रमा विद्युतको दुवै प्रसारण लाइन एकै तर्फबाट (राजमार्गको उत्तर तर्फबाट) पूर्वपश्चिम विस्तार गरेर लगिएको छ ।
दुवै प्रसारण लाइनलाई एउटै बाटोबाट लैजाँदा कम्तीमा पौने ५ मिटर टाढा राख्न पर्छ ।
त्यति दूरीमा विद्युत् पोल गाड्दा घरहरूमा छुने भएकाले पोल सार्ने काम रोकिएको बताइएको छ । सडकको उत्तरी किनारको एकै स्थानबाट फरक फरक दुईवटा विद्युत् पोलबाट लैजानु पर्छ ।
विद्युत् मापदण्ड अनुसार दुवै पोलको दूरी कम्तीमा पौने ५ मिटर टाढा हुनुपर्ने मापदण्ड छ।
त्यस क्षेत्रमा यसअघि नै बनेका घरहरूका कारण त्यहाँ त्यति दूरी फराकिलो बनाएर लैजान सम्भव छैन । घरमा सटाएर विद्युत लाइन लैजाँदा जोखिम हुने भएकाले पोल सार्न कठिन भएको हो ।
सडक निर्माणका इन्जिनियर राकेश झाका अनुसार सडक विस्तारको क्षेत्र मूल सडकको सेन्टरबाट दायाँबायाँ २५-२५ मिटर क्षेत्र कभरेज एरिया रहेको छ ।
पहिलो पोल र दोश्रो पोल कम्तीमा पौने ५ मिटर फरकमा गाड्नु पर्छ । त्यति दूरी राखेर पोल गाड्दा राजमार्गका सबै घरमा विद्युत तारले छुन्छ ।
विद्युत तारले घर छोइँदा करेन्ट प्रवाह हुने जोखिम अत्यधिक छ ।
त्यसै कारण त्यहाँका १५ किलोमिरट क्षेत्रमा सडक विस्तारको काम रोकिएको छ ।
तर यस क्षेत्रको विद्युत पोलको समस्या समाधान नगरी अन्यत्र विद्युतको तार सार्न सम्भव नभएको प्राविधिकहरू बताउँछन् ।
उक्त १५ किलोमिटर क्षेत्रमा ती दुई वटा प्रशारण लाइनको विद्युत जमिन मुनिबाट लैजाने वा इन्सुलेटर (प्लास्टिकले बेरिएको तार) मा राखेर लैजाने भन्नेमा नेपाल विद्युत प्राधिकरणले निर्णय लिन नसक्दा पोल सार्न नसकिएको हो ।
जसले गर्दा सडक फराकिलो पार्ने कामले गति लिन सकेको छैन ।
महेन्द्र राजमार्गको दुवै किनारका विद्युत पोल हटाउने काम आगामी वैशाखभित्र सक्नु पर्नेमा भेडाबारीदेखि भराहीखोला सम्मको क्षेत्रमा कसरी पोल लैजाने भन्ने निर्णय नहुँदा सडक विस्तारको कामले गति लिन सकेको छैन ।
तर यस क्षेत्रमा जमिन मुनिबाट विद्युत लाइन लैजानु उपयुक्त रहेको प्राविधिक र स्थानीयहरूको सुझाव छ ।
प्राधिकरणले भने अत्यधिक खर्चिलो हुने भएकाले जमिनमुनिबाट लैजान पनि सकिरहेको छैन ।
साथै जमिनमुनिबाट तार लैजानु कम जोखिमयुक्त भए पनि पूर्ण सुरक्षित नभएको बताइन्छ ।
बुटवल नारायणगढ सडक विस्तारको जिम्मा १७ अर्बमा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनिरिङ कर्पोरेशन लिमिटेडले काम थालेको करिब ४ वर्षको अवधिमा ११ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
आगामी चैतमा काम सम्पन्न भइसक्नु पर्ने यो आयोजनामा ठेकेदार कम्पनीले काममा ढिलाइ गरेका कारण बाटो फराकिलो पार्न थप २ वर्ष समय थप्न मन्त्रालयमा निवेदन दिएको छ ।