होसियार ! नियन्त्रणमा आएन नरभक्षी बाघ, मौसमको कारण देखाउँदै निकुञ्ज पछि हट्यो

नवलपुरमा नरभक्षी बाघ खोज्ने झण्डै ३ साताको असफल प्रयास पछि चितनव राष्ट्रिय निकुञ्जको टोली पछि हटेको छ ।
नवलपुरमा पछिल्लो समय बाघको आक्रमणबाट २ जनाको निधन भएको छ भने एक जना घाइते भएका थिए ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न जंगलमा बाघ खोज्न गरेको प्रयास असफल भएपछि मौसमलाई दोष दिँदै निकुन्ज कर्मचारीले शुक्रबारबाट बाघ खोज्ने थलो छोडेका हुन् ।
विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानमा नरभक्षी बाघले ३ जना स्थानीयलाई आक्रमण गरेपछि चितवन निकुन्जले बाघ नियन्त्रणमा लिन प्राविधिक सहितको टोली जंगलमा खटाएको थियो ।
बाघ खोजिमा खटिएका वन अधिकृत अमृत ज्ञवालीले अनेक प्रयास गर्दापनि बाघ फेला पार्न नसकिएको र वर्षाले पनि साथ नदिएका कारण अनिश्चित समयका लागि बाघ खोज्ने काम स्थगित गरिएको बताए ।

बाघ नियन्त्रणका लागि विनयी त्रिवेणीको सर्दी नजिकै पुछ्रे खोला नजिकमा राखिएको पाडो ९ दिनअघि बाघले खाएपछि प्राविधिक टोली त्यहिको रुखमा मचान बनाएर बाघ आउने आस गरेर जंगलमै बसेको थियो ।
‘आफैले खाएको सिनो लुछन आउला र बेहोस बनाएर नियन्त्रणमा लिन पाइएला भन्ने आश गरेर कुर्यौं मान्छे रहुन्जेल नआउने र मान्छे हिँडेपछि आउने गर्यो’, – ज्ञवाली भन्छन्, – ‘मौसमले पनि साथ नदिएका कारण शुक्रबारबाट टोली फर्कियो ।’
बाघले पाडोको सिकार गरेको क्षेत्र सिल गरेर मान्छेको आवतजावत बन्द गरेको ज्ञवालीले बताए ।
उनले भने, – ‘आफैले सिकार गरेको सिनो लुछ्न आउँछ कि भनेर डार्ट गर्ने टोली (सुई हानेर बेहोस पर्ने टोली) जंगलमै खटिएको प्रयास सफल हुन सकेन ।’

नरभक्षी बाघ खोज्न तीनवटा हात्तीसहित २६ जनाको टोली खटिएको थियो ।
विनयी त्रिवेणी गाउँपालिकामा नरभक्षी बाघको आक्रमणबाट २ जनाको ज्यान गएको छ । अर्का एक गम्भीर घाइते छन् ।
बाघको आक्रमणबाट त्रसित गाउँलेहरू घाँसदाउरा गर्न र चौपाया चराउन वन जान छोडेका छन् ।
बाघ नियन्त्रण नआएपछि यस क्षेत्रका बासिन्दामा थप त्रास छाएको छ ।
