बैवाहिक वर्षगाँठको अवसरमा वृद्धाश्रमका जेष्ठ नागरिकलाई भोजन प्रदान
कावासोती ।
नवलपुरको कावासोती नगरपालिका ३ निवासी रामकृष्ण पुडासैनी र लक्ष्मी पुडासैनीले आफ्नौ २४ औँ बैवाहिक वर्षगाँठको अवसरमा देवघाटमा रहेको वृद्धाश्रममा सोमबार भोजन गराएका छन् ।
भरतपुर महानगरपालिका एकमा रहेको गलेश्वर आश्रमद्धारा सञ्चालित एनआरएन वृद्धाश्रमका ६३ जना वृद्धवृद्धाहरुलाई बिहानको भोजन गराईएको हो । पुडासैनी दम्पत्ति र उहाँका परिवार र आफन्तजनको समेत सहभागितामा भोजन कार्यक्रम भएको थियो ।
शुभअवसमा अन्य खर्च गरेर मनाउन भन्दा सामाजिक काम गरेर मनाउदा असाहायलाई सहयोग समेत हुने भएकाले आफुले आफ्नो २४ औँ बैवाहिक वर्षगाँठको अवसरमा भोजन गराउने कार्यक्रम गरेको रामकृष्ण पुडासैनीले बताए ।
पारिवारिक माया र ममता पाएर आफ्नो परिवारसँगै बस्नुपर्ने उमेरमा आश्रममा आएर बस्नुपर्ने बाध्यात्मक अवस्थालाई बिस्तारै कम गर्दै लैजानुपर्ने उनले बताए ।
जीवनका थुप्रै वर्षहरु दुःखमा बिताएका बुवाआमाहरुलाई एक दिन भए पनि खाना खुवाउन पाउँदा आफुलाई खुसी मिल्ने र अन्यलाई समेत वृद्धवृद्धाहरुप्रतिको कर्तव्यबोध हुने भएकाले धार्मिक क्षेत्रमा रहेको वृद्धाश्रममा पुगेर भोजन गराएको उनले बताए ।
आफुले सामाजिक कार्य गरेमा आफ्ना सन्ततीले समेत सिक्ने हुँदा समेत अन्य तामझा गरेर मनाउन भन्दा भोजन गराएर मनाएको लक्ष्मी पुडासैनीले बताए ।
सो अवसरमा वृद्धाआश्रममा व्यवस्थापक तोयानाथ पौडेलले असाहाय तथा वृद्धवृद्धाहरुलाई भोजन गराएर पुन्य काम गरेको बताए । उनले आश्रममै आएर भोजन गराउने काम गरेकोमा पुडासैनी परिवारलाई धन्यवाद व्यक्त गरे ।
यस किसिमको सामाजिक काम अरुले समेत अनुशरण गर्न आवश्यक रहेको बताए ।



