त्रिभुवन विश्वविद्यालयका परीक्षा प्रणालीमा चरम लापरबाही : परीक्षा दिएका सयौँ विद्यार्थीको नतिजा अनुपस्थित, मार्कसिटमा चढेन प्रयोगात्मक नम्बर


 



त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौँ विद्यार्थीको नतिजा अनुपस्थित आएको छ । व्यवस्थापन संकायको डिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ ।

परीक्षा नियन्त्रण कार्यालय र अरू डिन कार्यालयबाट सञ्चालित परीक्षामा समेत परीक्षा दिएका विद्यार्थीको नतिजा अनुपस्थित देखिएको छ ।




डिन कार्यालयले सेमेस्टर प्रणालीका परीक्षा लिएर नतिजा सार्वजनिक गर्छ भने परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक प्रणालीका परीक्षा लिने गरेको छ ।

परीक्षा दिएको विषयमा अनुपस्थित आएपछि विद्यार्थी कोभिडको जोखिम मोलेर निवेदन दिन जिल्ला–जिल्लाबाट काठमाडौं आइरहेका छन् ।

कतिपय विद्यार्थीको सबै विषयमा र कतिपयको एक–दुई विषयमा अनुपस्थित नतिजा आएको छ ।

अनुपस्थितलगायत परीक्षाको नतिजा सच्याउन दैनिकजसो निवेदन परेका छन् ।

त्रिविको आंगिक क्याम्पसमा पढेका एमबिएस तेस्रो वर्षको परीक्षा दिएका एक विद्यार्थीले भने, ‘पहिलो र दोस्रो सेमेस्टरमा राम्रो नतिजा आएको छ, केही दिनपहिले आएको तेस्रो सेमेस्टरमा तीन विषयमा राम्रो छ, एक विषयमा परीक्षा दिए पनि अनुपस्थित आएछ, तनाव भएको छ ।

’ उनले अहिले त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयअन्तर्गतको परीक्षा शाखामा निवेदन दिएका छन् ।

व्यवस्थापन डिन कार्यालयले जुनसुकै ठाउँमा पढेको भए पनि सबै परीक्षा केन्द्रबाट जाँच दिन पाउने व्यवस्था गरेको थियो ।

‘जसले जहाँबाट दिन सक्छ त्यहीँबाट सहभागी हुने व्यवस्था गर्‍यौँ,’ व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले भने, ‘अहिले सबै ठाउँबाट परीक्षा दिने व्यवस्था गरेका कारण त्रुटि हुँदा अलि बढी अनुपस्थित नतिजा आएको छ ।’

अहिले आवेदन संकलन भइरहेको उनले बताए ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा भइसकेका विषयमा अनुपस्थित देखिने समस्या कम भएको र अब नतिजा हुने विषयमा धेरै समस्या आउने देखिएको बताए ।

गत साउनमा सञ्चालित प्रथम वर्षको परीक्षामा अनुपस्थितको समस्या धेरै आउने देखिएको उनले बताए ।

त्यतिवेला अनलाइनबाट फारम भरेको, परीक्षाको अघिल्लो दिनसम्म फारम भरेको, कोरोनाको समस्या भएकाले रजिस्ट्रेसन नम्बर नभएकालाई पनि परीक्षामा सहभागी गराइएकाले समस्या देखिएको उनको भनाइ थियो ।

त्यतिवेला दुई लाख ४२ हजार विद्यार्थीले पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने व्यवस्था गरेकाले अनुपस्थितलगायत समस्या आउने उनले बताए ।

कतिपयले परीक्षा आवेदनमा भरेको विषयभन्दा फरक विषयमा जाँच दिएको र आफ्नो ठाउँमा हाजिरी नगर्दा अनुपस्थित आउने गरेको बताए ।

उनले भने, ‘अनुपस्थित आएको ठूलो समस्या हुँदैन, हाजिरी गरेको छ भने समस्या समाधान हुन्छ ।’



सम्बन्धित
Loading...