होटलमा गैरकानुनी क्रियाकलाप गर्ने होटल सञ्चालिकासहित पाँच पक्राउ

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं २, लायन्सचोकस्थित कल्पना होटल एण्ड लजमा गैरकानुनी क्रियाकलाप भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होटल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य समस्तीपुर घर भई भरतपुर २ मा डेरा गरी बस्ने १९ वर्षीय मोहम्मद इम्तीयाज, भरतपुर १ बस्ने १९ वर्षीय सञ्जोग महरा, नवलपरासीको बौदीकाली गाउँपालिका ५ का २१ वर्षीय मुस्कान ठकुरी, भरतपुर ७ की २४ वर्षीया रोशनी मगर र नवलपरासीको देवचुली २ घर भई होटल सञ्चालन गर्ने ४० वर्षीया कल्पना महरा रहेका छन् ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
चितवनको राप्तीमा बर्ड फ्लू देखियो
चितवन । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्ममा बर्ड फ्लू देखिएको हो ।
फर्ममा कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौं पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । उनका अनुसार बर्ड फ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।
उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको १०० मिटर वरपर रहेका पंक्षी नष्ट गर्ने काम आज हुने उनले बताए । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ । शङ्कास्पद फर्महरूको नमूना सङ्कलन गरी परीक्षण गरिने उनले जानकारी दिए।
बर्ड फ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ ।