नवलपरासीः मैनाघाट–कोटथर बाटो स्तर उन्नतिको नाममा असंख्य रुख कटान, १९ गाडी सालका गोलिया र लाथ्रा बरामद

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ मा पर्ने मैनाघाट कोटथर बाटो स्तर उन्नतिको नाममा असंख्य रुखहरु काटिएको पाइएको छ ।
मध्यविन्दु नगरपालिकाको आर्थिक सहयोगमा बाटो स्तर उन्नति शुरु गरिएको हो । बाटो स्तर उन्नतिको क्रममा शुरुमा केही कुकाठहरु काटेर गाउँलेले लगेको भए पनि पछि असंख्य रुपमा सालका सानादेखि ठूला रुखहरु काटिएपछि वन कार्यालयले हस्तक्षेप नै गरेर काठहरु बरामद समेत गरेको छ ।
मध्यविन्दु नगरपालिका १३ अन्तरगतको बाटो निर्माण उपभोक्ता समिति र उक्त क्षेत्रका सामुदायिक वनले घटनाको जिम्मा लिएको छैन ।
आफूहरुले कटान आदेश नदिएको जनाएको छ । तथापि अत्यधिक रुपमा रुखहरु काटिएपछि वनले छापा मार्न जाँदा बाटो निर्माण समितिका पदाधिकारीहरुमा त्रास उत्पन्न भएको थियो ।

राष्ट्रिय वन अन्तरगत पर्ने उक्त वनबाट काटिए राखिएको अवस्थामा १९ गाडी साना ठूला काठका गोलियाहरु बरामद गरि शव डिभिजन वन कार्यालय चोरमारामा ल्याएर राखिएको शवडिभिजन वन कार्यालय चोरमाराका अधिकृत सन्तोष मिश्रले बताए ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेका अनुसार बरामद काठ वन कार्यालयले नियन्त्रणमा लिएर राखेको छ ।
वन कार्यालयले शव डिभिजन वन कार्यालय चोरमाराका प्रमुख दुर्गादत्त कंडेललाई अनुसन्धान अधिकृत नै तोकेर छानविन समिति समेत बनाएको छ ।
