एमसीसी पारित पर्ने कांग्रेस संसदीय दलको निर्णय, नाफाघाटा नहेरी एमसीसी पास गर्नुपर्छ: देउवा

नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदन हुनुपर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको आजको बैठकले २०७६ साल असार ३० गते प्रतिनिधिसभामा पेस भएको एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।
कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसदमा दर्ता गराएको प्रस्ताव संसदमा टेबुल गरी पारित गर्नुपर्ने निर्णय भएको बताए ।
‘ओली सरकारले दर्ता गरेको एमसीसी सम्झौता अनुमोदन सम्बन्धी प्रस्तावबारे प्रतिपक्षमै हुँदा पनि कांग्रेसले निर्णय लिइसकेको थियो । आजको बैठकले त्यो प्रस्ताव संसदबाट पारित हुनुपर्ने निर्णय गरेको छ’, थापाले भने ।
बैठकमा कांग्रेस सांसदहरूले एमसीसीमा केन्द्रित भएर धारणा राखेका थिए । परराष्ट्रमन्त्री डा. नारायण खड्का र पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।
नाफाघाटा नहेरी एमसीसी पास गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कांग्रेसले ‘नाफाघाटा’ नहेर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले जिम्मेवार राजनीतिक दल भएकोले कांग्रेसले क्षणिक लाभ वा हानिका आधारमा धारणा नबनाउने बताएका हुन् ।
‘हामीले नाफा घाटा हेरेर निर्णय गर्ने होइन । जे उचित हो त्यहि निर्णय गर्ने हो’, देउवाले भने । उनले एमसीसीबारे कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै कांग्रेसजति प्रष्ट दल नेपालमै नभएको बताए ।
‘कम्युनिष्टहरू सरकारमा हुँदा एउटा र विपक्षमा हुँदा अर्कै कुरा गर्छन् । कांग्रेसले दोहोरो कुरा गर्दैन । हिजो पनि हामी एमसीसीको पक्षमा थियौं, आज पनि छौं’, देउवाले भने ।
उनले संसदमा एमसीसी टेबुल गर्ने विषयमा सभामुखसँग आफूले छलफल गरिसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि एमसीसी पारित गर्न सघाउनुपर्ने बताए ।