एसीसीकाे विरूद्ध पाँच पार्टीले गरे नेपाल बन्दको घोषणा


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा आन्दोलनरत दलहरुले भोलि (बुधबार) नेपाल बन्दको घोषणा गरेका छन् ।



सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन गर्दै आएका विभिन्न ५ राजनीतिक दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

एमसीसीविरुद्ध कार्यगत एकता गर्दै संयुक्त संघर्ष गर्दै आएको सत्ता गठबन्धनको दल राष्ट्रिय जनमोर्चा भने संयुक्त आन्दोलनबाट बाहिरिएको छ ।




एमसीसीविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेल नेतृत्वको देजमोले बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् । बन्दको कार्यक्रममा राष्ट्रिय जनमोर्चा सहभागी नभएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए ।

यसअघि सोही मोर्चामा मोहनविक्रम नेतृत्वको नेकपा मसाल र सोही पार्टीको राष्ट्रिय जनमोर्चा पनि यीनै दलहरुसँग एमसीसीविरुद्ध संयुक्त आन्दोलनमा थियो ।

फागुन १ गते मसाल र जनमोर्चासहितका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा सम्मिलित बैठकले फागुन ४ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र विरोधसभाहरु गर्ने भनी निर्णय गरेका थिए ।



सम्बन्धित
Loading...