अज्ञात समूहद्वारा एम्बुलेन्समा आगजनी, कोटेश्वरमा ट्याक्सी जलाउन खोज्ने बन्दकर्ता पक्राउ




गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ ।

मुसिकोट नगरपालिका(४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।

 




वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका हुन् ।

आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुगेको छैन। राति नै प्रहरीलाई खबर गरेपनि अहिलेसम्म प्रहरी नआएको स्थानीयले बताए ।

वामी प्रहरी चौकी इन्चार्ज जनक थापाले गाउँमै अर्को आत्महत्या घटना भएको र प्रहरी संख्या कम भएकाले केहीबेरमा घटनास्थल पुग्ने बताए ।

कोटेश्वर चोकमा ट्याक्सी जलाउन खोज्ने बन्दकर्ता पक्राउ

एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले बुधवार नेपाल बन्द गरेका छन् । बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर, प्रहरी सक्रियताका कारण ट्याक्सी जल्नबाट रोकिएको छ । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

 

पक्राउ पर्नेमा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तान छन् । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आयोजना गरेका हुन् । बन्द गराउन निस्केका ६ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको एसपी मैनालीले बताए ।



सम्बन्धित
Loading...