मध्यविन्दु नगरपालिकाको स्थानीय पाठ्यक्रम तयार, हुप्सेकोटमा गतबर्षदेखि पठनपाठन

नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाले स्थानीय पाठ्यक्रम “हाम्रो मध्यविन्दु” निर्माण गरेको छ ।
शैक्षिक वर्ष २०७९ देखि लागु गर्ने गरी नगरपालिकाले निर्माण भएको मध्यविन्दु नगरपालिकापका नगर प्रमुख चन्द्रबहादुर रानाले बताए ।
विभिन्न सात वटा विषय क्षेत्र तय गरेर आधारभूत तह कक्षा १ देखि कक्षा ८ सम्मको लागि स्थानीय पाठ्यक्रम “हाम्रो मध्यविन्दु” तयार गरिएको मध्यविन्दु नगरपालिका शिक्षा शाखा प्रमुख टेकप्रसाद पाण्डेले बताए ।
स्थानीय पाठ्यक्रम अनुसार कक्षा १, २, ३, ४, ६ र ७ मा शैक्षिक शत्र २०७९ देखि पढाई शुरु हुनेछ । कक्षा ५ र ८ मा शैक्षिक शत्र २०७८ देखि स्थानीय पाठ्यक्रम लागु हुने पाण्डेले बताए ।
स्थानीय पाठ्यक्रममा हाम्रो मध्यविन्दु, हाम्रो सभ्यता र संस्कृति, स्थानीय पेसा, व्यवसाय र आर्थिक क्रियाकलाप, प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन र वृक्षारोपण, हाम्रा सम्पदाहरु, स्वास्थ्य, सरसफाई र खेलकुद, हामी र हाम्रो स्थानीय सरकार गरी सात वटा विषय क्षेत्र रहेका छन् ।
स्थानीय पाठ्यक्रमले नगरपालिकाको चिनारी संगै विद्यार्थीमा ज्ञान, सिप र दक्षताको दायरा फराकिलो बनाउने मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले विश्वास व्यक्त गरे ।
नगरपालिकामा रहेको शिक्षा समिति, पाठ्यक्रम मस्यौदा समिति र विभिन्न शैक्षिक व्यक्तित्वहरुको अध्ययन र छलफलबाट बनेको पाठ्यक्रमले विगतको शिक्षा प्राणालीमा सुधार र नविनतम् सोचको बिकास गराउने उनले बताए ।
मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख ओम कुमारी महतोले विभिन्न जातजाति, भाषा, धर्म र भेषभुषा सहित भौगलिक विविधता रहेको नगरपालिकाका सबैलाई यहाँको स्थानीय पहिचानको बारेमा विद्यालय शिक्षाबाट नै जानकारी गराउने र ज्ञान दिने विषय आफैमा महत्वपूर्ण हुने बताए ।
मध्यविन्दु नगरपालिकाको चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बजेट मार्फत स्थानीय पाठ्यक्रम “हाम्रो मध्यविन्दु” तयार गरिएको हो । असोजबाट नै पाठ्यक्रम लागु गर्ने गरी तयारी भएपनि पाठ्यक्रम तयार गर्दा यहाँको आवश्यकता, त्यसको प्राथमिकता सहितको विषयमा गर्नुपर्ने अध्ययन र अन्य स्थानीय तहको अभ्यासहरु समेतलाई ग्रहण गर्दा केही ढिला गरि पाठ्यक्रम तयार भएपनि यसको कार्यान्वयनलाई प्रभावकारी रुपमा लागु गराउन सबैको दायित्व हुने नवजागरण नमुना मा.वि. चोरमाराका प्रध्यानाध्यापक एवम् पाठ्यक्रम मस्यौदा समितिका सदस्य हरी प्रसाद देवकोटाले बताए ।
हुप्सेकोटमा गतबर्षदेखि पठनपाठन
नवलपुरको हुप्सेकोट गाउँपालिकामा भने गत बर्षदेखि नै गाउँपालिकाको विषय वस्तुमा आधारित पाठ्यक्रम तयार पारेर पठनपाठन भएको छ ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले पाठ्यक्रम तयार भएर कक्षा ८ सम्म पठनपाठन भईरहेको बताइन् ।