एमसीसी अनुमोदनः ओलीले पनि दिएन देउवालाई साथ

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्न एमालेले साथ दिनेमा आशावादी देखिए पनि एमालेले भने साथ नदिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले एमालेसँग प्रतिनिधि सभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गरेका थिए ।
तर ओलीले भने आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरू राखी सदनमा आवाज उठाइरहेको बताउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको स्रोतले जनाएको छ ।
भेटवार्तामा एमालेको तर्फबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव कमरेड विष्णु रिमाल सहभागी थिए ।
अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भइसकेको अवस्थामा त्यसलाई पास गराउन प्रधानमन्त्री देउवाले ओलीको साथ खोजेका थिए ।
एमालेले नै एमसीसी संसदमा दर्ता गरेका कारण एमालेको साथ पाउनेमा देउवा ढुक्क थिए ।
माओवादी र एकीकृत समाजवादीले एमसीसी पास भएमा सत्ता छाड्नेसम्मको धम्की दिन थालेपछि देउवा एमाले अध्यक्ष ओलीसँग निरन्तर छलफलमा छन् ।
एमालेले कारवाही गरेका सांसदहरुलाई संसदबाट निलम्बन गरे एमालेले एमसीसी पास गर्न साथ दिने सर्त अगाडि सारेको छ ।