शिक्षककाे कुटाइबाट विद्यार्थीको करङ भाँचियो


 



म्याग्दी / शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएकाे हाे ।

 

शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए । “बिना कारण सरले पाइपले पिट्नुभयो, अफिसमा गएर कुरा गरौँ भन्दा पनि मान्नुभएन्”, उनले भने “बोल्न र सास फेर्न गाहे भएको छ ।”




पौडेलका अनुसार उनीसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई पनि शिक्षक घिमिरेले शुक्रबार दिउँसो यातना दिएका थिए ।

वान्ता गर्ने, खाना नखाने, सास फेर्न गाहे हुने र दुखाइ बढेपछि शनिबार साँझ बेनी अस्पतालमा एक्सरे र स्वास्थ्य परीक्षण गरिएको थियो । पौडेलकी दिदी मनकुमारी सुवेदीले टाउको सुन्निएकाले शनिबार रातीनै पोखरा लगेर कालीगण्डकी डायग्नेस्टिक एण्ड रिसर्च सेन्टरमा सिटीस्क्यान गरी बिहान बेनी ल्याएको बताइन् ।

 

“बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न र औषधि दिनुभएको छ”, उनले भनिन् “सम्बन्धित सर र विद्यालय प्रशासनमा शनिबार बिहानै फोनबाट जानकारी गराउँदा वास्ता गर्नुभएन ।”

पौडेलका बुबा भीमप्रसाद पौडेलले मर्यादा विपरीत बाल मनोवैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै आज विद्यालयमा निवेदन दिएका छन् ।

 

पौडेल प्रकाश माविमा तीन वर्षदेखि अध्ययनरत थिए । विद्यालयका निमित्त प्रअ लेखबहादुर हमालले शनिबार बिहान फोनबाट पौडेलकी दिदीले अनौपचारिक जानकारी गराएको र  छलफलका लागि बोलाएको बताए ।



सम्बन्धित
Loading...